असोज २५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले बामदेव गौतमलाई चुनाव लडाउने विषयमा औपचारिक प्रस्ताव आएपछि छलफल गरिने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रायमाझीले गौतमलाई पुनः चुनाव लडाउने विषयमा आफ्नो समर्थन वा विरोध केही पनि नभएको स्पष्ट पारे ।
गौतमको चुनाव लड्ने चाहना र रामवीर मानन्धरले राजिनामा दिएको विषय पार्टीमा छलफल नभै बजारमा पुगेको भन्दै असन्तुष्टी व्यक्त गरे ।
“बामदेव गौतमले चुनाव लडेर प्रतिनिधीसभामा जानै पर्ने कारण के हो ? कति आवश्यक हो ? औचित्य कति छ ? यि सबै विषयमा छलफल होला नि ।” रायमाझीले भने । “के कति कारणले रामवीरले राजिनामा दिनुभएको हो ? वामदेवजी चुनावमा जान चाहनुभएको हो कि होइन ? यि कुरा औपचारिक रुपमा पार्टीमा नआएकाले अहिले बहस गर्नुपर्ने आवश्यकता छैन ।”
यो विषयमा आफूहरुलाई औपचारिक जानकारी नै नभएको रायमाझीले बताए ।