सामुदायिक सभाहल निर्माण

म्याग्दी, २२ कात्तिक / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले चन्दा सङ्कलन र श्रमदान गरेर सामुदायिक सभाहल निर्माण गरेका छन् ।

स्थानीयवासी, देशका विभिन्न शहर र प्रवासमा रहेका किन्दुवासीको सहयोगमा एककोठे सभाहलसहितको भवन बनाएका हुन् । रु सात लाख ४४ हजारको लागतमा सभाहल निर्माण गरिएको स्थानीयवासी सुनदेवी तिलिजाले बताउनुभयो ।

सभाहलसहितको सामुदायिक भवन निर्माण भएपछि बैठक, तालीम, गोष्ठी र भेला सञ्चालन गर्न सहज भएको तिलिजाले बताउनुभयो । यसअघि व्यक्तिका घर र चौरमा बैठक बस्नुपर्ने समस्या थियो ।

सामुदायिक भवनमा गाउँ नजीकैको जङ्गलमा पाइने निगालोका सामग्री तयार पार्ने सीपमूलक तालीम र उद्योग सञ्चालन गर्ने योजना बनाइएको छ । यसैबीच किन्दु गाउँ नजीकै रहेको छिर्केश्वर शिवालय परिसरमा स्थानीयवासीको रु पाँच लाख ७४ हजार ७७० मा सत्तल निर्माण भएको छ ।
सतिदेवीको भुँडी खसेर छिर्केश्वर शिवालय नाम रहनगएको छिर्केश्वर मन्दिरमा सत्तल निर्माण भएपछि भक्तजनलाई सहज भएको संरक्षण समितिका तीर्थबहादुर पुर्जाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको विकट क्षेत्रमा पर्ने किन्दुको विकासमा सरकारी निकायबाट पर्याप्त सहयोग नभएकाले आफँै अग्रसर भएर पूर्वाधार बनाएको बताएका छन् । (रासस)

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...