मन्त्री बाँस्कोटाको दाबी : वर्तमान सरकार भ्रष्टाचार मुक्त

काभ्रेपलाञ्चोक, २२ कात्तिक ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचार मुक्त भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका–२ र ३ नं वडा कमिटीद्वारा आज कुशादेवीमा आयोजित देउसीभैलो एवं सांस्कृतिक कार्यक्रममा उहाँले भन्नुभयो, “यो सरकार भ्रष्टाचार मुक्त छ र गर्छ भन्नेमा पनि शङ्का नगर्नुस् ।’

मन्त्री बाँस्कोटाले आफूले भ्रष्टाचार गरेको कसैलाई लागे मात्रै सात पुस्तासम्म छानबिन गर्न आग्रह गर्दै केही समयअघि आफूलाई ‘भ्रष्टाचारी मन्त्री’ भनेर चरित्र हत्या गर्ने खोजेकाले ‘हिम्मत् भए लिन आऊ’ भनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले कहीँकतैबाट पैसा खाएको प्रमाणित गरेर देखाउ, जिन्दगीभर उसको दास बन्नेछु ।”  मन्त्री बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचार मुक्त मुलुक बनाउने अभियानमा लागेको चर्चा गर्दै हचुवाका भरमा जो सुकै व्यक्तिको चरित्र हत्या गर्ने अधिकार कसैलाई नभएको धारणा व्यत्तः गर्नुभयो ।

उहाँले भन्नभयो, “मर्दा कसैले केही लाने होइन, कात्रोमा खल्ती पनि हुँदैन, नाम र इज्जत लिएर जाने हो, हामी सोहीअनुरुप काम गर्दैछौँ ।”

मन्त्री बाँस्कोटाले ठूलठूला परियोजना निर्माणका लागि गृहकार्य गरिरहेको वर्तमान सरकार लगानी भित्र्याउने प्रयासमा रहेको बताउँदै “केही परियोजना हामी आफ्नै लगानीमा नसक्ने पनि हुनसक्छन्, त्यसैले सरकार लगानी भित्र्याउने प्रयास गर्दैछ”, भन्नुभयो ।

“समृद्ध नेपाल, सुखी नेपालीको महान अभियानमा सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो, “हामी सरकारमा खान गएका हैनौँ, देश बनाउने महान काम गर्न गएका हौँ, कसैले चिया पसलमा नकारात्मक सोचले फलाक्दैमा हाम्रो अभियानमा कुनै बाधा पर्दैन ।” (रासस)

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...