ऋषिजी तपाई जग्गा खोज्नुहोस्, क्लबको भवन म बनाईदिन्छु : वामदेव गौतम

काठमाडौं, २२ कात्तिक ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले भने,‘तत्कालिन् एमाले र तत्कालिन् माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौं । घोषणापत्रमा उल्लेख भएका विषयहरु लागु नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौं । घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्दछु । पत्रकारहरुलाई यो साझा घोषणापत्र लागु गर्न पनि दबाबमूलक कार्यक्रम ल्याउन यहीँबाट विशेष अनुरोध गर्दछु।’

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग खुलेर कुरा गरेका नेता गौतमले सरकार गठन भएको जम्मा ८ महिनामात्रै भएको बताउँदै यसका कामहरु हर्न बाँकी रहेको सुनाए । उनले भने,‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हाँसिल गर्न सक्यो कि सकेन ? भनेर अहिले भन्ने बेला होईन् ।’

नेता गौतम आज नोष्टाल्जिक बनेका थिए । उनले पत्रकार ऋषि धमला पहिले कमरेड हुनुहुन्थ्यो भन्दै आफ्नो भनाई सुरु गरेका थिए । गौतमले भने,‘मैले ऋषिजीलाई क्लबको आफ्नै भवन बनाउने वचन दिएको छु । म आज एउटा घोषणा गर्न चाहन्छु, ऋषिजी तपाई जग्गा खोज्नुहोस् । भवनको डिजाईन बनाउनुहोस् । क्लबको भवन म बनाईदिन्छु । पत्रकारहरुकोलागि कोठाको व्यवस्था गर्नुहोस् । लागत कति लाग्छ त्यसको ईष्टिमेट पनि गर्नुहोस । म त्यो व्यहोर्छु । अनुदानमा हुन्छ वा अन्य केहीबाट म बनाउन तयार छु।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...