आयोजनाबाट १८० घरधुरी लाभान्वित

पाल्पा, २४ कात्तिक । डमरा–भोटाहा सिँचाइ आयोजना सञ्चालनमा आएपछि यहाँका १८० घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ सुविधा नहुँदा त्यसैखेर गएका, बाँझिएका जमीन अहिले सदुपयोगमा आएको छ ।

सरकारको सहयोग र स्थानीयवासीको जनश्रमदानमा डमरा–भोटाहा सिँचाइ आयोजना निर्माण भएपछि कृषकलाई ठूलो राहत पुगेको छ । पाल्पा र नवलपुरको सिमानामा पर्ने बौदीखोलाको पानीबाट डमरा भोटाहा सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको हो ।

बाँझिएका जमीनमा सिँचाइ आयोजना सञ्चालनमा आएपछि कृषकले अहिले अन्नबाली, तरकारीबाली लगाउन थालेका छन् । बाकाखोलादेखि भोटाहाको हजारफाँटसम्मको पुरानो कुलोमा सिँचाइ आयोजनामार्फत बौदीखोलाको पानी मिसाइ केही स्थानमा मर्मतसम्भार गरेसँगै ८० हेक्टर जमीनमा बाह्रै महीना सिँचित हुँदै आएको छ । यही कुलोबाट डमराको माथिल्लो भागदेखि भोटाहासम्म सिँचाइ हुँदै आएको छ ।

यस सिँचाइ आयोजनाबाट डमरा र भोटाहाका ८० घरपरिवार, अर्मलाङ, पुर्वमलाङ्ग, राहुवन, राईका र नवलपुर रकुवाका १०० गरी जम्मा १८० घरपरिवारमा प्रत्यक्ष सुविधा पुगेको डमरा–भोटाहा सिँचाइ आयोजनाका अध्यक्ष कुलबहादुर राना बताउनुहुन्छ ।

सिँचाइ आयोजनाबाट कुलोमा नियमित पानी आउन थालेपछि कृषकले कृषि उत्पादन बढाउदै गएका छन् । सिँचाइ नहँुदा जीवनगुजारा चलाउन निकै समस्या भोगेका यहाँका कृषकलाई अहिले आफ्नै बाँझिएका जग्गामा सिँचाइ पर्याप्त पुगेपछि हरियाली कृषिबाली लगाएर आम्दानीको स्रोत बढाउन थालेको स्थानीयवासी चेतन पुलामीले बताउनुभयो ।

खेतीयोग्य जमीन सिँचाइ अभावले बाँझिएर सुख्खाटारका रूपमा परिणत भएको जग्गालाई पुनः हरियाली देख्न पाउँदा निकै रमाइलो लागेको कृषक कृष्णप्रसाद थापा बताउनुहुन्छ । “पहिला पानी नभएपछि खेती गर्न छाडियो, अहिले कुलोमा नियमित पानी आइरहन्छ, खेतीपाती गर्न साह्रै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

विसं २०६५ मा बौदीखोलादेखि बाकाखोलासम्म नयाँ कुलो निर्माण शुरु गरिएको हो । नौ किलोमिटर लम्बाइ रहेको कुलो सरकार र स्थानीयवासीको रु दुई करोड ६० लाख लागतमा निर्माण सम्पन्न भएको छ । पुरानो कुलोलाई पनि मर्मत गर्दै सिँचाइका लागि प्रयोग गरिएको छ ।

यसलाई पनि व्यवस्थित गरी नियमित रूपमा पानी सञ्चालन गर्न स्थानीय निकाय र प्रदेश सरकारबाट सहयोग जुटाउन लागिपर्ने निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँण बताउनुहुन्छ । पहिला सिँचाइ अभावले खेतीयोग्य जमीन बाँझिन थालेपछि केहीले गाउँ नै छाडेर अन्यत्र बसाइ सरी गएको पाइन्छ । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...