कभर्डहल निर्माणका लागि जग्गादान

दमक, २० मङ्सिर । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक एआर्ईजी अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जमीन निःशुल्क दान दिनुभएको छ ।

दिवङ्गत पिता नारायणसिंंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा उहाँले करिव एक करोड ५० लाखको दमक नगरपालिका-९ स्थित १० कठ्ठा जमीन दान दिनुभएको हो । खेलकूदमा रुचि राख्नुहुने उहाँ दमक-९ का स्थायी बासिन्दासमेत हुनुहुन्छ ।

नगरप्रमुख रोमनाथ ओलीका अनुसार दाता शाहले दिनुभएको जग्गामा ‘नारायण-ज्योति मल्टिपल कभर्डहल’ नामाकरण गरिने र यसै आर्थिक वर्षबाट काम शुरु गरिनेछ । सुविधासम्पन्न हुने उक्त कर्भडहल आगामी पाँच वर्षभित्रमा पूरा गरिने लक्ष्य लिइएको र जग्गादान, नामाकरण तथा निर्माणसम्बन्धी व्यवस्थापकीय विषयमा समेत दाता परिवारसँग सहमति भई हस्ताक्षार भइसकेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच नगरपालिकाको बोर्ड बैठकले यहाँ कभर्डहल निर्माणका लागि नगर खेलकूद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंको संयोजकत्वमा निर्माण समिति र जग्गादाता शाहको संयोजकत्वमा अनुगमन तथा सल्लाहकार समितिसमेत गठन गरेको छ । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...