मातृभाषा शिक्षामा विद्यार्थीको आकर्षण

काठमाडौँ,२१ मंसिर । तामाङ विद्यार्थीको बाहुल्यता रहेको क्षेत्रपाटीस्थित जुद्धोदय माध्यमिक विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा नेपाल भाषाको पढाइ हुँदै आएको छ । स्थानीयरुपमा नेवारी समुदाय बढी भएकाले विद्यालयले एकदेखि ५ कक्षासम्म नेपाल भाषामा पढाएको हो ।

स्थानीय नेवार समुदायका विद्यार्थी भन्दा अरु जातिका विद्यार्थी नेपाल भाषामा रमाएर पढिरहेका छन् । कूल एक हजार विद्यार्थी रहेको विद्यालयमा करीब ३०० विद्यार्थी नेपाल भाषा पढ्छन् । त्यसमा ६० जना मात्रै नेवार समुदायका विद्यार्थी छन् । काठमाडौँमै बस्नुपर्ने भएकाले नेपाल भाषा आफ्ना बालबालिकाले पढ्दा खुशी नै लागेको तामाङ समुदायका विद्यार्र्थीका अभिभावक बताउँछन् ।

काठमाडौँ महानगरपालिकाले एक मातृभाषा शिक्षकका लागि उपलब्ध गराउने मासिक रु १० हजार रकम र तालीमका कारण सो विद्यालयले नेपाल भाषामा पढाए पनि मातृभाषा शिक्षकका लागि दरबन्दीको व्यवस्था नभएको विद्यालका नेपालभाषा शिक्षक रमिता शाक्यले जानकारी दिनुभयो ।

महेन्द्र बौद्ध माध्यमिक विद्यालय, बौद्धमा अधिकांश विद्यार्थी जनजाति समुदायका र ४५ प्रतिशत विद्यार्थी तामाङ समुदायका छन् । विद्यालयमा विसं २०६५ बाट कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रमको एउटा विषयको रुपमा तामाङ भाषा अध्यापन हुँदै आएको छ तर यो अनिवार्य छैन । कक्षा ५ का लाक्पा स्याङ्वो तामाङ मातृभाषा विषयमा पढ्न पाउँदा रमाइलो लागेको बताउँछन् ।

घरमा अभिभावकले बोल्ने मातृभाषामा विद्यालयमा पढाउँदा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने ती विद्यालयहरुमा शिक्षा पत्रकार समूहले हालै गरेको अध्ययनमा देखिएको छ । बालबालिकाको प्राज्ञिक तथा बौद्धिक विकास उनीहरुको पहिलो भाषामा हुने निष्कर्ष विभिन्न अध्ययनले दखाएको छ ।अन्तर्राष्ट्रिय भाषा अङ्ग्रेजीमा पढाउँदा गुणस्तरीय हुन्छ, भन्ने सोचका कारण मातृभाषा शिक्षा पछाडि परेको भाष विज्ञहरु बताउँछन् ।

नेपाली मातृभाषा नहुने विद्यार्थीबीचको सिकाइ उपलब्धि कमजोर हुने भए पनि शिक्षक दरबन्दी, शिक्षक तालीम र पाठ्यक्रम, पाठ्यपुस्तकको उपलब्धता नहुँदा मातृभाषा शिक्षा प्रभावकारी नहुने विज्ञहरुको भनाइ छ । संविधानत ः विद्यालयमा मातृभाषामा पढ्न पाउने विद्यार्थीको अधिकार दिएको छ, भने निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ मा प्रदेश र स्थानीय सरकारले स्थानीय विशेषता तथा आवश्यकताका आधारमा प्रबन्ध गर्नुपर्ने उल्लेख छ । पाठ्यक्रम विकास केन्द्रले विभिन्न २४ मातृभाषामा पाठ्यक्रम तयार गरेको छ ।

‘मातृभाषा शिक्षा ः अभ्यास र चुनौती’ विषयमा आज आयोजित छलफल कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले विद्यार्थीको सिकाइ सहजता र उपलब्धिलाई ध्यानमा राखेर मातृभाषा शिक्षा नीति कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा षडानन्द कँडेलले आयोगले विगतको एकात्मक राज्य व्यवस्थाका कारण मातृभाषा शिक्षा पछि परेको बताउँदै आयोगले स्थलगत अध्ययन गरेर यसबारे सुझाव दिने जानकारी दिनुभयो ।

मातृभाषा विज्ञ अमृत योञ्जनले शिक्षा क्षेत्रको कर्मचारीतन्त्र मातृभाषा शिक्षालाई प्रवद्र्धन गर्नमा बाधक भएको बताउनुभयो । प्रदेश नं ३ का सांसद् राजकाजी महर्जनले मातृभाषामा पढ्न पाउने मौलिक हक भए पनि सरकारले यसको अपनत्व लिन सक्नुपर्ने बताउनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपसचिव गेहनाथ गौतमले मातृभाषी शिक्षक पर्याप्त दिन नसकिएको स्वीकार गर्दै संविधान र कानूनको कार्यान्वयनमा सरकारपछि नहट्ने धारणा व्यक्त गर्नुभयो ।ललितपुरको महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले प्राथमिक तहमा मातृभाषामा शिक्षा दिँदा उपयोगी हुने बताउनुभयो ।

भाषा आयोगका उपसचिव लोकबहादुर तामाङले नेपाली र अङ्ग्रेजीबाहेक सबै विषयलाई मातृभाषामा पढाउन सकिने भएकाले विषय र माध्यमका रुपमा मातृभाषा शिक्षालाई लिन सकिने बताउनुभयो ।रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...