कक्षाकोठामा मुख्यमन्त्री

काठमाडौं १७ पुस । सधैंझैं सोमबार पनि १० बजे विद्यालयको घन्टी बज्यो । प्रार्थनापछि सबै कक्षाकोठामा पसे । अरू कक्षामा नियमितजस्तै शिक्षक/शिक्षिकाको प्रवेश भयो । तर, १० कक्षाको सेक्सन ‘ए’ मा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भित्रिए । शिक्षकहरूले जस्तै मार्कर र डस्टर बोकेर उनले पढाउन थाले । विद्यार्थी दंग परे ।

कक्षामा उनले कसरी पढाइमा सफलता हासिल गर्ने, अप्ठ्यारो लागेको विषयमा कसरी नजिक हुने, शिक्षकसँग कसरी अन्तक्र्रिया गर्ने र जीवनमा कसरी सफल हुनेजस्ता विषयवस्तु सुनाए । हाम्रा मौलिक संस्कृति, परम्परागत जीवनशैली र बदलिँदो समाजबारे पनि उनले जानकारी दिए ।

एक घण्टाभन्दा बढी पढाएर पोखरेलले तुलसीपुर उपमहानगरपालिका ७ स्थित कालाखोला माविबाट ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एक दिन’ शैक्षिक अभियानको सुरुवात गरेका हुन् । सामुदायिक विद्यालयमै गुणस्तर सम्भव छ भन्ने नारासाथ सामुदायिक विद्यालयमा अभिभावक पुग्ने र विद्यार्थीमाझ अनुभव बाँड्ने कार्यक्रम तय गरिएको हो । यसको सुरुवात मुख्यमन्त्रीले गरिदिएका हुन् ।

अब हरेक अभिभावक वर्षमा एक दिन विद्यालय पुगेर आफ्ना अनुभव बाँड्नुपर्ने उनको भनाइ छ । ‘सामुदायिक विद्यालयमा अभिभावकको चासो र चिन्ता घटै गइरहेको छ । यसले शैक्षिक गुणस्तर झन् खस्कन्छ,’ उनले भने, ‘आज मैले कक्षाको सुरुवात गरेँ । अब हरेक अभिभावक विद्यालयमा नियमित पुगेर आफ्ना बालबालिकाको पढाइबारे जानकारी लिनुपर्छ, आफ्नो क्षमता विद्यार्थीमाझ देखाउनुपर्छ । अभिभावकका अनुभव बालबालिकालाई काम लाग्छन् ।’ तुलसीपुर उपमहानगरपालिकाबाट सुरु भएको यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पुर्‍याउने उनले बताए ।

विभिन्न टेलिभिजन च्यानल र पत्रिकामा देखेका मुख्यमन्त्री कक्षामा आउँदा विद्यार्थी दंग थिए । मुख्यमन्त्री पोखरेलले विद्यार्थीलाई तालिका बनाएर पढेमा मात्रै सफल बन्न सकिने सल्लाह दिए । उनले पढै जाँदा गरिने गल्तीबाट धेरै कुरा सिकिने बताउँदै गल्ती भयो भनेर कुनै काम पनि छाड्न नहुने सुझाए । विद्यार्थीलाई परीक्षामा कसरी तयारी गर्नेदेखि अनुशासन र माक्र्सवादसम्मका कुरा पढाउन उनले भ्याए ।

यो अभियानले शैक्षिक गुणस्तर सुधार्न सहयोग गर्ने उनको भनाइ छ । ‘स्थानीय तहसँग समन्वय गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियान थालेका छौं,’ पोखरेलले भने, ‘यसले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत पुर्‍याउनेछ । सामुदायिक विद्यालयमा अभिभावकको चासो बढे गुणस्तर बढाउन सकिन्छ ।’ विद्यार्थीमात्रै होइन, शिक्षक र अभिभावकसँग पनि शिक्षाको गुणस्तरबारे छलफल गरिएको थियो । कान्तिपुरबाट


ताजा खबर

Loading...
Loading...
Loading...