‘सेटिङ’मा दर्ता भयो प्रेरणाको रिट ! पाउलिन् त ‘न्याय’ ?

काठमाडौं १७ पुस । गत पुस ६ गते एउटा रिट लिएर अधिवक्ता गोकुलबहादुर रोकाया सर्वोच्च अदालत पुगे । रिट पनि संवैधानिक इजलासमा जाने गरी दर्ता गर्न उनी सर्वोच्च पुगेका थिए ।

कानुन बाझिएको भन्दै बाझिएको कानुन संशोधनको माग गर्दै उनी सर्वोच्च पुगेका थिए । अधिवक्ता गोकुलबहादुर रोकाय रिट लिएर गए पनि रिट भने पूर्वयुवराज्ञी अर्थात् ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको थियो । गोकुल उनको वारेसका रुपमा सर्वोच्च पुगेका थिए ।

प्रेरणाको तर्फबाट गोकुलबहादुर रोकायले दर्ता गरेको रिटको मागको सार छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा पुनः प्रेरणाकै नाममा ल्याउने थियो ।

यस्तो थियो छाउनीको दाइजो काण्ड
छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा तत्कालीन राजा वीरेन्द्रको नाममा दर्ता थियो । तर २०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्ड भएलगत्तै छाउनीको उक्त जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो नाममा बनाए । ज्ञानेन्द्रले छाउनीको जग्गा मात्रै आफ्नो नाममा बनाएका थिएनन्, अन्य विभिन्न स्थानमा रहेको पूर्व राजपरिवारको जग्गा पनि ज्ञानेन्द्रले आफू र आफ्नो परिवारका सदस्यका नाममा दर्ता गराए । त्यसैअन्तर्गत एउटा जग्गा थियो, छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र त्यसको बनेको घरसहितको संरचना ।

ज्ञानेन्द्रकी छोरी प्रेरणा शाहको जब विवाह भयो, ज्ञानेन्द्रले छाउनीमा रहेको राज खानदानको उक्त जग्गा छोरी प्रेरणालाई दाइजोस्वरूप दिए । प्रेरणाको विवाह २०५९ साल माघ ८ गते ठकुरी खानदानका राजबहादुर सिंहसँग भयो । ज्ञानेन्द्रले छोरीलाई दाइजोस्वरूप छाउनीको उक्त १५ रोपनी क्षेत्रफलको जग्गा र त्यहाँ बनेको घर दिए ।

२०६२ साल जेठ १० गते राजदरबारले राजकीय सम्पत्ति कोष विभागलाई पत्र लेख्दै ‘श्री ५ महाराजाधिराज सरकारबाट काठमाडौं जिल्ला, टङ्केश्वर ताहाचल, जग्गाधनी श्री ५ महाराजाधिराज नारायणहिटी राजदरबार भनी रहेको काठमाडौँ महानगरपालिका, वडा नम्बर १३, ताहाचल कित्ता नम्बर २५ को ०७६६४.६० वर्ग मिटर (१५–१–०–०) क्षेत्रफल जग्गा र घर कम्पाउन्डसमेत काठमाडौँ महानगरपालिका, वडा नम्बर १३, ताहाचल, छाउनी राज होइबक्सने श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह सरकारका जुनाफको हक पुग्ने गरी दाइजो बक्स भएको छ’ भनी पत्र लेखिएको थियो । र, त्यही पत्र अनुसार २०६३ साल असार १९ गते मालपोत कार्यालय कलङ्कीलाई पत्र लेख्दै उक्त जग्गा प्रेरणाको नाममा नामसारी गरिदिन निर्देशन दिइयो ।

तर उक्त जग्गा प्रेरणाले आफ्नो नाममा ल्याउन पाइनन् । किनभने जब देशमा गणतन्त्र आयो र पूर्वराजाको सम्पत्तिका सम्बन्धमा छानबिन सुरु भयो, मालपोत कार्यालयले छाउनीको उक्त जग्गा प्रेरणाको नाममा ल्याउन मानेन ।

तर जब नेपाल ट्रस्टको स्थापना भयो र ऐन आयो, नेपाल ट्रस्टले २०६४ पुस १ गते मालपोत कार्यालय कलङ्कीलाई पत्र लेख्दै छाउनीको १५ रोपनी १ आना क्षेत्रफलको उक्त जग्गा नेपाल ट्रस्टको नाममा ल्याउन निर्देशन दियो ।

नेपाल ट्रस्टको कार्यालयबाट पत्र आएलगत्तै मालपोत कार्यालय कलङ्कीले २०६४ पुस ३ गते पूर्ववत् दर्ता खारेज गर्दै उक्त जग्गा नेपाल ट्रस्टको नाममा दर्ता कायम गरिएको पत्र दियो ।

सेटिङका न्यायाधीश आएपछि प्रेरणाको चलखेल
२०६४ पुस ३ गते नै उक्त जग्गा नेपाल ट्रस्टको नाममा गए पनि लामो समय चुपचाप बसेकी प्रेरणाले २०७१ सालपछि मात्रै चलखेल गर्न थालेको देखिन्छ । जब २०७१ असोज २४ गते रामकुमारप्रसाद साह प्रधानन्यायाधीश बने, त्यसपछि प्रेरणाले बल्ल अदालत धाउन थालिन् ।

रामकुमार साहसँग सेटिङ मिलेपछि दर्ता बदर भएको ७ वर्षपछि मात्रै प्रेरणा आफूले दाइजो पाएको भनिएको जग्गा खोज्दै मालपोत पुगिन् । मालपोत कार्यालय कलङ्कीले उक्त जग्गा नेपाल ट्रस्टको नाममा गएको बताएपछि प्रेरणाले २०७१ माघ १३ गते नेपाल ट्रस्टलाई पत्र लेख्दै मेरो जग्गा के कसरी ट्रस्टको नाममा ल्याइएको हो कागजात उपलब्ध गराउन माग गरिन् ।

त्यसको केही समयपछि नेपाल ट्रस्टले २०७१ माघ १८ गते प्रेरणालाई कागजात उपलब्ध गराउँदै नेपाल ट्रस्टको नाममा मन्त्रिपरिषद्को निर्णय र नेपाल ट्रस्ट ऐन अनुरूप उक्त जग्गा ल्याइएको जानकारी गराइयो । त्यसपछि प्रेरणाले आफ्नो सम्पत्ति आफूलाई कुनै जानकारी नदिई नेपाल ट्रस्टको नाममा ल्याइएको भन्दै २०७१ माघ २५ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै नेपाल ट्रस्टको नाममा भएको दर्ता बदर गरी आफ्नो नाममा ल्याइदिन उत्प्रेषणको आदेश माग गरिन् ।

विलम्ब गरी सेटिङमै दर्ता भएको रिट निवेदनमाथि सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०७२ असार ६ गते निर्णय उल्टी गरियो र नेपाल ट्रस्टको नाममा रहेको उक्त जग्गा प्रेरणाकै नाममा गरिदिन आदेश भयो । आदेश दिने व्यक्तिहरूमा पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्र शमशेर राणा थिए । राजधानीबाट

Comments

Loading...
Loading...

ताजा खबर

Loading...
    सम्बन्धित शीर्षकहरु