प्रधानमन्त्री ओलीले राजपासँग मागेको एक हप्ता सकियो, तर सिन्को भाँचिएन

पुष १८, काठमाण्डौ । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई सात दिनभित्र संविधान संशोधनलगायतका विषय टुङ्गो लगाउने दिएको प्रतिबद्धताको समय सकिएको छ ।

तर पुस १० गते व्यक्त गरेको प्रतिवद्धता पूरा भएन । योबीचमा कुनै छलफलसमेत भएन ।

प्रधानमन्त्री केपी ओलीले पार्टी संविधान संशोधनलगायत विभिन्न मुद्दाको विषयमा पार्टी तथा सरकारसँग छलफल गरेर टुङ्गो लगाउने आश्वासन राजपा नेपालका नेतालाई दिएका थिए ।

तर यस अवधिमा प्रधानमन्त्री ओलीले त्यस विषयमा कुनै गृहकार्य गरेको पाइएन । राजपा नेपालले पनि सात दिनको अवधिमा प्रधानमन्त्री ओलीको तर्फबाट कुनै पनि गृहकार्य वा छलफल नभएको दावी गरेको छ ।

प्रधानमन्त्री ओलीले राजपा नेपालसँग छलफल गरेको दिनदेखि पार्टी बैठक तथा सरकारको काममै व्यस्त देखिए । ११ र १२ गते स्थायी समितिको बैठक थियो । त्यो बैठकमा संविधान संशोधनको विषयमा एजेन्डा आउने सम्भावना थियो तर आएन ।

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा पनि संविधान संशोधनको विषयमा कुनै चर्चा गरेका छैनन् । स्थायी समितिको बैठकमा बोल्ने नेताहरूले पनि यस विषयमा बोलेनन् ।

प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता जनाएको यो पहिलो पटक होइन । राजपा नेपालले समय तोकेर छलफलका लागि जाँदा पटक पटक प्रतिबद्धता जनाएका थिए ।

तर आजसम्म धेरै प्रतिबद्धता पूरा भएको छैन ।

भेटवार्ता र प्रतिवद्धताको श्रृंखला ः

केपी शर्मा ओली प्रधानमन्त्री भएको १३ दिनपछि अर्थात फागुन १६ गते राजपा नेपालले विज्ञप्ति निकालेर संविधान संशोधन गर्न आग्रह गरिएको थियो । विज्ञप्ति निकालेको तीन दिनपछि अर्थात १९ गते राजपा नेपालले प्रधानमन्त्री ओलीलाई भेटेर संविधान संशोधन, रेशम चौधरीको रिहाइ, मुद्दा फिर्तालगायतका विषयमा मौखिक जानकारी गराएको थियो ।

वैशाख १० गते राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर संविधान संशोधनलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । जेठ ८ गते राजपा नेपालका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर सात बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

साउन ३ गते राजपा नेपालका नेताहरूले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर संविधान संशोधनलगायत मुद्दा फिर्ता, बन्दी रिहाइका बारेमा ज्ञापनपत्र बुझाएका थिए । सरकारद्वारा गठन गरिएको वार्ता समितिले भदौ २५ गते राजपा नेपालका नेताहरूसँग छलफल गरेको थियो । असोज ६ गते राजपा नेपालका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर संविधान संशोधन लगायतको विषयमा ज्ञापनपत्र बुझाएका थिए ।

पुस १० गते राजपा नेपालका नेताहरूले प्रधानमन्त्री ओलीसँग संविधान संशोधनलगायतका विषयमा छलफल गरे । त्यसमा प्रधानमन्त्री ओलीले सरकार र पार्टीसँग छलफल गरेर सात दिनभित्र यसको बारेमा जानकारी गराउने भनी आश्वासन दिएका थिए ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...