हात गुमाएका कवाडीवाला पासवानको गुनासो: ‘दश वर्ष धाउँदापनि अपाङ्गता परिचय-पत्र पाईँन’

काठमाडौं, १७ पुस । विद्यार्थी आन्दोलनको उर्वर क्याम्पस मध्यको एक क्याम्पस हो रत्न राज्य क्याम्पस (आर.आर.) । संघीय राजधानी काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा रहेको रत्न राज्य क्याम्पस (आर.आर.) को नाम लिँदा उक्त क्याम्पसको पठन–पाठन र विद्यार्थी आन्दोलनको सम्झना गर्ने मानिस नेपालमा धेरै छन् ! आरआर क्यापसमा शिक्षा, राजनीति र साहित्यिक क्रियाकलापहरु हुने गर्दछन ।

कुरा अलि पहिलेको हो । त्यही आरआरको गेटमा विभिन्न निजि कलेजहरुको विज्ञापन भइरहेको थियो । क्याम्पसको गेटदेखि सडकसम्मै ‘ब्रोसर’ ले उचाई लिँदै थिए । कक्षा १२ को परिक्षा दिएर बाहिरिँदै गरेका विद्यार्थीहरुलाई ‘ब्रोसर’ बाँड्नेहरुले आफ्नो कलेजको बारेमा परिचय दिईरहेका थिए ।

कति विद्यार्थीहरुले अमिलो अनुहार लगाएर ‘ब्रोसर’ मात्रै समातेको देखिन्थ्यो । सायद परिक्षा सोचेअनुरुप नभएर हुन सक्छ ! विद्यार्थीहरु ती ‘ब्रोसर’ केही परसम्म मात्रै लिएर फ्याकिदिन्थे । कोही नजिकै खसालीदिन्थे । सडकको किनारासम्म बाक्लिँदै गरेको ‘ब्रोसर’ को चाङलाई केही कवाडीहरु उठाईरहेका थिए । विद्यार्थीहरुको बाग्लो भीडलाई छिचोल्दै अघि बढ्दै गर्दा अचानक मेरा आँखा एक हात गुमाएका कवाडीमा पुगे ।

काठमाडौमा प्रायः सबैलाई अलिक बढिनै हतार हुन्छ ! त्यहि हतारको सूचिमा म पनि पर्छु । मनमा पीडा भयो । एक हातको सहारामा जीवन धान्नु उनको रहर होईन, बाध्यता नै हो । मैले सहजै अनुमान गरें । सपाङग कवाडीहरुले हात गुमाएका कवाडीलाई हप्काईरहेको पनि सुनें । अझ त्यसले मलाई घोच्यो । अफिस पुग्दासम्म यो पीडादायी दृश्य मेरो मनमा घुमिरह्यो । उक्त दृश्यबारे मैले अनेक कुरा सोचें । पत्रकार हुनुको नाताले हात गुमाएका कवाडीवालाको सम्पर्क नम्बर वा जानकारी ल्याउनु थियो, त्यो मैले ल्याएँ । उनको नाम थियो सुखल पासवान  । उनी त्यो दिन ‘ब्रोसर’ उठाउन साह्रै व्यस्त थिए । उनीसँग थप कुरा नगरी म आफ्नो गन्तव्यमा हिँडेको थिएँ ।

महिनौं पछिको दोस्रो भेट

जिन्दगी के हो ? भनेर सोध्ने हो भने उक्त प्रश्नको उत्तरमा विश्वका हरेक मानिसहरुले आफ्नै तरिकाले जवाफ दिन्छन् । विश्वका मानिसहरु दुई भागका विभाजित छन् । भौतिकवादी र अध्यात्मवादी । कोहीले अदृश्य कुराहरुलाई मान्दैनन् । तर, केही भने अदृश्य शक्ति छ भनेर विश्वास राख्छन् ।

 

कुनै विशेष व्यक्तिसँग अनपेक्षित भेट हुनुलाई कतिले संयोग मान्छन् त कतिले जुरेको भन्छन् । भेट हुन लेखेको रहेछ भन्छन् । यो प्रसंगलाई भौतिक र अध्यात्म के भन्ने ? जे होस पाश्वानसँग आज भेट भयो । त्यो पनि कार्यालयकै अगाडिको बाटोमा ।

आर.आर. क्याम्पसको गेटमा भेट्दा लिएको उनको मोबाईल नम्बर रिपोर्टिङको क्रममा हरायो । बाटोमा अरु कवाडीवाला भेटेको बेलामा पनि म उनै पासवानलाई सम्झिन्थें । उनकोबारेमा लेख्ने सपना अधुरो रह्यो जस्तो भान हुन्थ्यो । अर्को मनमा कुनै दिन त भेट हुन्छ । उनीपनि राजधानीमै बस्छन् । म पनि यतै छु, सोच्थे । नभन्दै त्यही भयो । उनीसँग दोस्रो दिन भेट सम्भव भयो ।

१० वर्ष पहिले मिलले काटेको हात

बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय सुखल पाश्वासन १० वर्ष पहिले स्थानीय एक तोरी मिलमा काम गर्थे । एकदिन अचानक तोरी पेल्दै गर्दा मेसिनले उनको दाहिने हात छिनाल्यो । त्यसपछि उनी एक हाते जीवनका भए । अर्थात अपाङ्गता बने । जीवनको दाहिने हात गुमाउनुको पीडा सायदै गुमाउनेलाई मात्रै थाहा हुन्छ । हो, पाश्वानले पनि दाहिने हात मात्रै गुमाएनन् । गरेर खाने महत्वपूर्ण जीवनको एक अंग नै गुमाए ।

पासवानले मसँगको छोटो कुराकानीमा दिएको जानकारी अनुसार उनी विगत एक दशकदेखि संघीय राजधानी काठमाडौंको डिल्लीबजारमा बस्दै आएका छन् । घरमा श्रीमती, १५ वर्षीया एक छोरी र दुई छोरा छन् । जेठो छोरा ११ वर्षका छन् भने कान्छो छोरा १० वर्षका । एक हातको साहरामा साईकल चलाएर परिवार पाल्नु जो कोहीको लागि कठिन विषय हो । सन्तान साना छन् । पासवान सम्झिछन् जिन्दगीका पुराना दिन । सम्झिन् छन् हात गुमाउनुभन्दा पहिले र अहिलेको जीवन । अनि भन्छन्,‘मलाई यसरीनै खानु रहेछ, के गर्नु हजुर दुःख छ, बाध्यता छ, एक हातको सहारमा जीवन पाल्न कसलाई पो सजिलो हुन्छ र मलाई होला ?’ उनले अघि थपे,‘विहे गरेको केही वर्षमै हात गुमाउनुपर्यो, छोराछोरी जन्मे, जिन्दगीले फरक बाटो लियो, कवाडी सामानहरु संकलन गरेर जिन्दगी पाल्नु परेको छ ।’

बाटोमा फालेका बोत्तल देख्दा माया लाग्छ

जिन्दगी कस्तो लाग्छ ? भनेर प्रश्न गर्दा उनले मलिन स्वरमा जवाफ फर्काए,‘पहिलेको तुलनामा अहिले मैले भोगिरहेको जिन्दगी आधाजस्तो लाग्छ । दाहिने हात गुमाएँ । काम गरेर परिवार पाल्नुपर्ने । पढेको छैन् । आर्थिक परिस्थिति कमजोर छ । मानिसहरुले प्रयोग गरेर फालेका फोहोरका टुक्रा संकलन गरेर जिन्दगीको गुजरा चलाउनु मेरो बाध्यता हो । जिन्दगी रहेसम्म यस्तैगरि खानु छ ।’

तपाईलाई कवाडी भन्ने कि सफा गर्ने मानिस ? उनले भने,‘फोहोर उठाएका छौं, त्यसको आधारमा सफा गर्ने मानिस भन्दापनि भयो, अर्कोतर्फ त्यही फोहोर संकलन गरेर जिविकोपार्जन गरिरहेका छौं, यसलाई आधार मान्ने हो भने कवाडी भन्दा भयो, के भन्ने ? के नभन्ने ?’

उनी भन्छन्,‘कुनै आफ्न्त साथीभाईकोमा जाँदा बाटोमा फालेका बोत्तल देख्दा माया लाग्छ, आफ्नो पेशाले पनि तान्ने रहेछ, एउटा बोत्तल १ रुपैयाँमा खरिद गरेर दुई रुपैयाँमा बेच्ने गर्छु, कागज १० रुपैयाँमा किनेर १२ रुपैयाँमा, फलाम २० रुपैयाँमा किनेर २२ रुपैयाँमा कवाडी मालिकलाई बेच्ने गर्छु, त्यसैबाट जीवन चलाउने गरेको छु ।’

नगरपालिकाले अपाङ्गताको परिचय–पत्र दिएन

पासवानले अपाङगताको परिचयपत्र नपाएको दुःखेसो पोखेका छन् । उनले भने,‘म दर्जनौंपटक नगरपालिका धाएँ । १० वर्षदेखि आफ्ना कुराहरु राखेको छु, तर नगरपालिकाले मलाई अपाङ्गताको परिचय–पत्र दिन मानेको छैन्, अहिले त आस मरिसक्यो, सबैतिर राजनीतिक पहुँच हुनुपर्ने रहेछ, मेरो हात गुमेको छ । तर, मलाई अपाङ्गताको परिचय–पत्र दिन मान्दैन, म कति चोटी पुगेको छु, दुःख गरेको छु तर परिचय–पत्र पाएको छैन्।’

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...