कथैकथाका पात्रको सेवाघर

काठमाडौं २१ पुस ।
भक्तपुर : पात्र १. हरिलाई आफ्नै दाजुले पढाउन भनी जाजरकोटबाट काठमाडौं ल्याएका थिए। दाजुले काम गरी भाइलाई अक्षर चिनाए। दाजुको विवाह भयो। दाजु काम गर्न जालेपछि भाउजूले कुटेर हरिलाई निकालिन्। बेवारिसे हरिको सडकमै बास भयो। हरिलाई एक पसलेले उद्धार गरे। तर, पसलेले पसल बेचेपछि फेरि उनी अलपत्र परे। मागेरै दैनिकी गुजार्न थाले। तर, भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरीस्थित मानव समाज कल्याण सेवाघरले उनको उद्धार गर्‍यो। उनी अहिले यहीं बस्छन्।

पात्र २. त्यस्तै अर्का पात्र ५० बर्से रामबहादुर दमाईका दुवै गोडा छैनन्। काठमाडौं गोकर्णेश्वर महादेव मन्दिरमा मागेर दिन गुजार्दै आएका थिए। दुवै गोडा नभएकाले उनले अपांगता परिचयपत्र पाएका छन्। तर सरकारले दिने सामाजिक सुरक्षाभत्ता मात्र नभई दिनभरि मागेर कमाएको पैसा पनि उनको हातमा पर्दैन। उनले कमाएको सबै पैसामा रामबहादुरकै बहिनी र बहिनीज्वाइँले चलाउँछन् छन्। खान र लाउन नदिई उल्टै माग्न पठाउँथे रामबहादुरलाई। खान पाउने आशमा रामबहादुर दिनभरि मन्दिरमा बसेर माग्थे। मागेको पैसा र सरकारले दिएको भत्ता पनि रामबहादुरले नपाएको चाल पाएपछि छिमेकीले उद्धार गरी उनलाई मानव समाज कल्याणको सेवाघर पुर्‍याए।

कथैकथाका पात्रको सेवाघरपाँच वर्षको उमेर हुँदै फुपूले आफ्नो ७ बर्से छोराको हातबाट माइली मगरको सिउँदो रंग्याइदिइन्। मगर जातिमा फुपूमामाका छोराछोरीबीच बिहेबारी चल्छ। माइली १४ वर्षकी भएपछि आमाबुबाले उनकै घर पठाए। उनी पनि खुसीसाथ माइती मकवानपुरको फापरबारीबाट तारकेश्वर नुवाकोट गइन्। घर पुग्दा तीन वटी सौता देखेपछि उनको होसहवासै उड्यो। आँगनभरि सौताका बच्चाबच्ची देखेर उनी छाँगाबाट खसेजस्तै भइन्।

त्यो दृश्य देखेर ड्राइभर श्रीमान्को मुखै नहेरी माइली माइत फर्किइन्। पहिल्यै अरूले सिन्दूर हालेकाले अरूसँग उनको विवाह हुन पाएन। माइतमा उनीसरहका कोही पनि छैनन्। बाँकी भदाभदै, नातिनातिना आआफ्नै काममा व्यस्त भएकाले उनलाई हेर्ने कोही भएनन्। त्यसैले उनी विरक्तिएर घर छाडी काठमाडौं आइन्। सडकमा बेवारिसे भएर बसेकी ७४ बर्से उनलाई मानव कल्याण समाजले आ श्रय दियो। यसरी सडकमा बेवारिसे अवस्थामा पुगेका ३५ जनालाई भक्तपुरको मानव कल्याण समाजले उद्धार गरी सेवाघरमा राखेको छ। ३५ मध्ये दुई जना दृष्टिविहीन छन्। ३ जनामा पक्षघात छ। अरू ३ जना बोल्न सक्दैनन्। रामबहादुरका गोडा छैनन्। १० जना मनोरोगी छन्। पाँच जना सामान्य छन्। एक जना सुत्केरीसमेत छिन्। ‘सबै कहीं न कहीं हण्डर र ठक्कर खाएर कथा बोक्दै यहाँ आइपुगेका छन्’, समाजकी अध्यक्ष सुमित्रा चौलागाईं भन्छिन्।

भाडाको घरमा सेवाघर

समाजको सेवाघर वागेश्वरीको खरिपाटीस्थित यातुमहादेव मन्दिरसँगै रहेको एक निजी घरमा भाडामा छ। दुई फ्ल्याटको मासिक ३० हजार रुपैयाँ भाडा तिर्नुपर्छ। त्यस्तै खानेपानी र औषधोपचारमा पनि मासिक ३० हजार खर्च हुँदै आएको छ। सेवाघरमा आ श्रय पाएकाका लागि खान र लाउन भने अहिलेसम्म समस्या नभएको अध्यक्ष चौलागाई सुनाउँछिन्। जन्मदिन, विवाहोत्सव, नयाँ कामको थालनी गर्नेहरूले खाना, लुगाफाटो सहयोग गर्दै आएको उनले जानकारी दिइन्। ‘कसैले खाद्यान्न, कसैले लुगाफाटो र कसैले रकम नै सहयोग गर्दै आएका छन्’, उनले थपिन्, ‘यस्तै सहयोगबाट औषधोपचारलाई समेत खर्च जोहो भइरहेको छ।’ सेवाघरको भाडा तिर्नसमेत मासिक पाँच ६ हजार रुपैयाँसम्म योगदान गर्नेहरू रहेको उनले बताइन्।

सुरुमा रातो चामलको भात

उनीसहित सातजना मिलेर गएको वैशाखदेखि सेवाघर सञ्चालनमा ल्याएका थिए। दुई जना ज्येष्ठ नागरिकबाट सुरु गरिएको थियो। सेवाघरको ठूलो क्षमता नभएकाले धेरैतिरबाट बेवारिसेहरूको उद्धार गरिदिन आग्रह गरिए पनि आफूहरू जान नसकिएको चौलागाईं बताउँछिन्। सुरुमा सेवाघरमा बसेकाहरूलाई यज्ञ, पूजाआजामा ब्राह्मणले पाउने रातो चामल किनेरसमेत खाना खुवाएको उनले सुनाइन्। सेवाघरका सहयोगी बढेका छन्। फोन नै गरेर के चाहिन्छ भन्नेहरूको संख्या बढेको छ। सहयोगीहरू कुनै न कुनै बेला टुप्लुक्क आइपुग्छन्। ‘ला चिनी, बिस्कुट सकियो, अब बाआमालाई के खाजा खुवाउने भनी सोच्न भ्याएको हुँदैन। कोही न कोही एक किलो चिनी, एक प्याकेट बिस्कुट लिएर टुप्लुक्क आइपुग्नु हुन्छ।’

सडकमा आउने स्थितिको अन्त्य आवश्यक

सुमित्रा र उनको समूहले खुला हृदयले बेवारिसेहरूको सेवा गर्दै आएको छ। सेवा गरेर देखाउन हो, भनेर हिँड्ने होइन भन्ने उनीहरूको जोड छ तर समाजले कहिलेसम्म सडकका बेवारिसेको उद्धार गरी सेवा गरिरहने ? समाजका पदाधिकारीहरू निरुत्तर छन्। उनीहरू आफैं पनि अहिलेको अवस्थामा समाजले निरन्तर सेवा दिइरहन सक्नेमा विश्वस्त छैनन्। ‘कमसेकम सेवाघरको आफ्नै भवन होस्, यसको नियमित आयस्ता होस्’, अध्यक्ष चौलागाईं सोचमग्न हुन्छिन्, ‘योभन्दा महत्वपूर्ण कुरा सडकमा कोही व्यक्ति बेवारिसे भई आउन नपरोस्। सडकमा बेवारिसे आइरहने र हामीले उठाइरहने, आखिर कहिलेसम्म ? ’

यसका लागि नयाँ पुस्तालाई तयार गर्नुपर्ने उनी विचार राख्छिन्। ‘नयाँ पुस्तामा सकारात्मक सोच र आमाबुबा तथा हजुरआमाबाको महत्व र आवश्यकतामा बोध गराउन सकिए बेवारिसको संख्या घट्छ कि ? ’, उनी प्रतिप्रश्न गर्छिन्।

अन्नपूर्णपोष्टबाट


ताजा खबर

Loading...
Loading...
Loading...