अमेरिकी विदेशमन्त्री मध्यपूर्वका आठ देश जाने

वासिङ्टन, २१ पुस । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अर्को हप्ता मध्य पूर्वका आठ देशको भ्रमणमा जानुहुने भएको छ ।

मध्यपूर्वका आठ देशको राजधानीमा हुने भेटघाटका क्रममा उहाँले यमन युद्ध, सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने तयारी र अरबी पत्रकार जमाल खशोग्जीको हत्याका बारेमा छलफल हुने भएको छ ।

आठ दिने भ्रमणका लागि पोम्पेओ आउदो मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जनाएका छन् । उहाँले अमान, कायरो, मानामा, अबुदाबी, दोहा, रियाद, मुस्कट र अन्त्यमा कुवेत सिटीको भ्रमण गर्नुहुने भएको हो । विदेश मन्त्री पोम्पेओको भ्रमण तालिका अधिकारीहरुले शुक्रबार तय गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको झण्डै दुई हप्तापछि विदेश मन्त्री पोम्पेओले ती देशहरुको भ्रमण गर्न लाग्नु भएको हो ।

भ्रमणका क्रममा उहाँले कायरोमा महत्वपूर्ण सम्वोधन गर्ने कार्यतालिका समेत रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् । भ्रमणको दोस्रो दिनमै हुने त्यस सम्वोधन मार्फत् उहाँले मध्य पूर्वलाई अमेरिकाले नछोडेको सन्देश दिने बताइएको छ । (रासस/एएफपी)

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...