सरकारले संसदीय समितिलाई अवरोध गर्नेगरि हस्तक्षेपकारी कदम चालेको गौतमको आरोप

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले वाईडबडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परीणाम ल्याउनेमा आफू विश्वस्त रहेको सुनाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गौतमले सार्वजनिक लेखा समिति वा उपसमिति भनेको संसदको ‘मिनि–पार्लियामेन्ट’ भएकोले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर गलत गरेको गुनासो पोखे । उनले सरकारले संसदीय समितिलाई अवरोध गर्नेगरि हस्तक्षेपकारी कदम चाल्न नहुने धारणा राखे ।

गौतमले भने,‘सरकारले सार्वभौम संसदलाई अंकुश लगाउने कुरा क्षम्य हुँदैन । लेखा समितिको प्रतिवेदनमा चित्त बुझेन भने सार्वभौम संसदमा छलफल हुनुपर्छ । तर, संसदीय समितिलाई काम गर्न नदिएर दबाबमूलक काम गर्नुहुँदैन् ।’

आफूले नै यो प्रकरणमा संसदमा विषय टेबल गराएको पनि उनले जनाए । उनले भने,‘विमान खरिद प्रक्रिया नै गलत थियो । विमानको भारहन क्षमता नै सम्झौता गर्दा एउटा र ल्याउँदा अर्के छ । २४२ मेट्रिक टन हुनुपर्नेमा जहाज ल्याउँदा २३० मेट्रिक टनमात्रै छ । ९ वटा ट्वाईलेट भएको किन्नुपर्नेमा ७ वटामात्रै भएको किन किनियो ?’ आफूले फेरि पनि यो विषयमा संसदमा कुरा उठाउनेपनि गौतमले जनाए ।

उनले नेपालमा भ्रष्टाचार न्यूनीकरणमात्रै नभएर पूरै समाप्त गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनको लागि अब पूरानो धङधङीबाट हिँडेर नहुने उनको धारणा छ ।


ताजा खबर

Loading...
Loading...
Loading...