गगन थापाको टिप्पणी : ‘सभामुख महराले हुकुमी शैली र गाईजात्रा देखाए’

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सभामुख कृष्णबहादुर महराले हुकुमी शैली र गाईजात्रा देखाएको टिप्पणी गरेका छन् ।

संसद बैठक १५ मिनेटको लागि स्थगित् भएलगत्तै पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘प्रधानमन्त्रीलाई झुठको फेहरिस्त सुनाउन दिने, अनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर पनि गर्न नपाउने भन्ने हुन्छ ? यो त सभामुखको हुकुमी शैली हो । सभामुखले नियमावली उल्लंघन गर्ने यो कुन चाहीँ संसदीय व्यवस्था हो ?’

प्रश्नोत्तर प्रक्रिया नचलाए र सभामुखले प्रक्रिया नसच्याए आफूहरुले संसद चल्न नदिने थापाको चेतावनी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्न माग पाउनुपर्ने माग गर्दै नेपाली काँग्रेसका सांसदहरुले संघीय संसदको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै काँग्रेस सांसदहरुले प्रश्नोत्तरको माग गर्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले सिमित सांसदलाई प्रश्नोत्तरको समय दिएका थिए ।

तर, काँग्रेस सांसदहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि सभामुख कृष्णबहादुर महराले शुन्य र विशेष समय रद्द गर्ने निर्णय गरेका थिए । लगत्तै काँग्रेस सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । बैठक हाललाई १५ मिनेटका लागि स्थगित भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 


ताजा खबर

Loading...
Loading...
Loading...