गाडीमा ठोक्किएर वन्यजन्तु मर्ने क्रम बढ्दो

पथलैया, २४ पुस । बिहानीपख सडक पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा गतहप्ता दुर्लभ पाटे बाघ दुर्घटनामा प¥यो । तीव्र गतिको कारसित ठोक्किँदा सो बाघ घाइते हुन पुग्यो ।

घटनास्थलमा भेटिएका रौँ र रगतको डिएनए परीक्षण एवं हिँडेको पाइला अध्ययनबाट पर्सा राष्ट्रिय निकुञ्जभित्रको सो बाघ दुर्घटनामा परेको पुष्टि भयो । निकुञ्ज संरक्षणमा कार्यरत सरकारी निकाय एवं मध्यवर्ती क्षेत्रका उपभोक्तालाई समेत आजसम्म घाइते बाघको स्वास्थ्य अवस्था कस्तो छ रु कुनै अत्तोपत्तो छैन ।

निकुञ्जका कर्मचारी तथा सुरक्षामा खटिएका नेपाली सैनिकले बाघको खोजी गरिरहेका छन् । घाइते बाघ भेटिएको छैन । “म¥यो कि जिउँदै छ जानकारी छैन, निकुञ्जको क्षेत्र ठूलो छ, कता लुक्यो लुक्यो । सम्भावित सबै स्थान खोजिसक्योँ तर भेटिएको छैन”, निकुञ्जका रेञ्जर विनयकुमार झाले भन्नुभयो ।

निकुञ्जका अनुसार गएको हप्तामा निकुञ्जमा संरक्षित हनुमान बाँदर, चित्तल, साम्बरलगायतका पाँच वन्यजन्तुको सवारी साधनमा ठोक्किएर मृत्यु भइसक्यो । वन्यजन्तु रमाउने समय विशेष गरी साँझ र बिहानपख राजमार्गमा दुर्घटना पर्नेक्रम पछिल्लो समय बढ्दो छ ।बाक्लो हुस्सु, राजमार्गमा गुड्ने सवारी साधनको तीव्र गतिले वन्यजन्तुको मृत्यु बढिरहेको बताइन्छ । सवारी साधनसित ठोक्किएका वन्यजन्तुलाई तत्काल उद्धार गरी उपचार गर्न नभ्याइएको निकुञ्जका प्राविधिक बताउनुहुन्छ ।

गत वर्षको फागुनमा सोही सडक पार गर्दा पाटे बाघ दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुन पुगेको थियो । सन् २०१३ मा निकुञ्जभित्र सात बाघ रहेकोमा बढेर २०१७ मा १९ पुगेको थियो । गत वर्ष चित्तल, बँदेल, रतुवा मृग, बाँदर लगायतका ३७ वन्यजन्तुको मृत्युको कारण यही राजमार्ग बनेको थियो । बारा, पर्सा र मकवानपुर जिल्लाका ६२७ वर्ग किमी भूभाग निकुञ्जले ओगटेको छ । यातायात आवागमनका दृष्टिले अति व्यस्त सो राजमार्गको करीब ४५ किलोमिटर सडक निकुञ्ज क्षेत्रभित्र रहेको छ ।

विसं २०४० वैशाख ५ गते घोषणा गरिएको ती भूभागको सो आरक्षण क्षेत्रलाई विसं २०७४ वैशाख २५ गते राष्ट्रिय निकुञ्जमा विस्तार गरिएको थियो । सरकारले ती तीन जिल्लाका तत्कालीन निर्मलबस्ती, सुवर्णपुर, जिराभवानी, सिमरा, अमलेखगञ्ज, चुरियामाई, पद्मपोखरी, हाँडिखोला र मनहरि गाउँका २८५ वर्ग किलोमिटर क्षेत्रफललाई समेटी विसं २०६२ असार १३ गते मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो । मध्यवर्ती क्षेत्रमा १३ उपभोक्ता समूहमा ८५ हजार बासिन्दा रहेका छन् ।

निकुञ्जभित्र ६० देखि ६५ जङ्गली हात्ती, तीनदेखि पाँच गैँडा, १०५ गौरी गाई छन् । त्यस्तै ३७ स्तनधारी, ४९० चराचुरुङ्गी, ३१ प्रकारका पुतली तथा ३३६ प्रकारका वनस्पतिका प्रजाति छन् । निकुञ्जको सुरक्षा र वन्यजन्तुको संरक्षणमा नेपाली सेनाको तारादल गणले यहाँ आधुनिक सूचना प्रविधिलाई अधिकतम उपयोगमा ल्याएको छ । उसले राजमार्गका आवश्यक स्थानमा सिसिटिभी जडान तथा अन्य स्थानमा ‘पोचर क्यामरा’ जडान गरी निगरानी बढाएको छ ।

निकुञ्जका अति महत्वपूर्ण १२ स्थानमा सुरक्षार्थ सेनाको पोष्ट छ । सेनाले दैनिक गस्ती ९पैदल, साइकल, हात्ती सवार तथा गाडी गरिरहेको छ । “राजमार्गका आवश्यक स्थानमा सिसीटिभी जडान गरी सवारी साधन आवतजावत, वन्यजन्तु सवारी साधन ठोक्किए तत्काल सुरक्षाकर्मी परिचालन, चालकलाई गति, वन्यजन्तुका महत्वबारेमा सचेतना गराउँछौँ”, गणपति महासेनानी निकिल कुँवरले भन्नुभयो ।

वन्यजन्तुको वासस्थान, जैविक विविधता, प्रजाति, वनस्पति तथा सिमसारका दृष्टिकोणले यो निकुञ्ज विश्वकै उत्कृष्टमा पर्दछ । अरु निकुञ्जमा कमै देखिने जङ्गली कुकुर ढोले हुडार-हड्डी बाघ, चौसिङ्गा, सालक, सुनगोहोरो, अजिङ्गर, राजधनेश यहाँका विशेषता मानिन्छ । पाटे बाघ, जङ्गली हात्ती, गैँडा तथा गौरी गाई यहाँका प्रमुख विशेषता हुन् तर प्रचारप्रचारको अभावमा निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन ।

गत वर्ष आन्तरिक र बाह्य ५०५ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जले जनाएको छ । “वन्यजनतुको चोरी शिकारी नियन्त्रण र सुरक्षाको लागि स्मार्ट पेट्रोलिङ गर्छौं।” उहाँले भन्नुभयो । निकुञ्जको अमलेखगञ्ज हात्तीसारमा रहेकी चित्रसेनकलीले विसं २०७४ माघ १३ गते पहिलो छावा ९पोथी हात्ती०लाई जन्माएकी थिइन् ।

यो निकुञ्जको हात्तीसारमा जीवित स्वस्थ बच्चा जन्मेको पहिलोपटक थियो । भीमा एकादशीका दिन जन्मेकोले भीमा नामाकरण गरिएको सो छावाको जन्मोत्सव विशेष रुपले मनाउने तयारी निकुञ्जले गरेको छ ।

प्रमुख सुरक्षा चुनौती नदीजन्य पदार्थ उत्खनन

निकुञ्जभित्रका नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन नरोकिएकोमा निकुञ्जले चिन्ता व्यक्त गरेको छ । निकुञ्जका रेञ्जर झाले भन्नुभयो, “निकुञ्जभित्रका नदी तथा खोलाबाट बालुवा, गिट्टी तथा ढुङ्गाजस्ता नदीजन्य सामग्रीको उत्खनन, सङ्कलन तथा अनियमित ओसारपसार पूर्णरुपमा रोक्न तथा नियन्त्रण गर्न पछिल्लो समय केही नीतिगत समस्या परेको छ । यसले वन्यजन्तु संरक्षण तथा सुरक्षामा चुनौती थपिएको छ ।”

वन्यजन्तु संरक्षण ऐन २०२९ ले निकुञ्ज क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य निषेध गरेको छ । यस निकुञ्जभित्र दुधौली, मनहरा खोला तथा राप्ती नदी छन् । गत महीनामात्र ती नदीका बालुवा तथा गिट्टी ढुङ्गा ओसारपसार गरेबापत निकुञ्ज प्रशासनले १०० भन्दा बढी ट्रयाक्टरलाई कारवाही गरेको थियो ।

“वन र वन्यजन्तु संरक्षण गर्दै वन पैदावार तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण गर्नु हाम्रा प्राथमिकताका क्षेत्र हुन । पछिल्ला दिनमा यहाँका नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन नियन्त्रण कार्य चुनौती बन्दै गएको छ ।” उहाँले भन्नुभयो । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...