फिलिपिन्समा आँधीका कारण एक सय २६ जनाको मृत्यु

काठमाडौं, २४ पुस । फिलिपिन्समा क्रिसमसपछि आएको आँधी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

आँधी र पहिरोले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । राजधानी मनिलादेखि दक्षिण पूर्वमा पर्ने बिकोलमा मात्रै झण्डै सय जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

क्रिसमसको बिदामै रहेका बेला प्रभावित भएका धेरैलाई अन्यत्र स्थानान्तरण गरिएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधी निकै खराव खालको भएको बताइएको छ ।

घटनास्थलमा बेपत्ता भएका तथा प्रभावित भएकाहरुको खोजी कार्य अझै पनि जारी रहेको छ । उद्धार तथा खोजीकालागि पहिरो र त्यसले ल्याएको माटो ठूलो समस्याका रुपमा रहेको छ ।

यस आँधी र पहिरोका कारण झण्डै एक लाख ५२ हजारलाई अन्यत्र सारिएको हो । घटनामा परी अहिले सम्म ७५ जना घाइते भएका विवरण प्राप्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन सम्वन्धी निकायले जनाएको छ ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले शुक्रबार घटनास्थलको निरिक्षण गर्नु भएको छ । उहाँले प्रभावितहरुलाई तत्काल उपयुक्त ठाँउमा बसोबासको व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिनु भएको छ । प्रभावितहरुलाई विभिन्न विद्यालयहरुमा अस्थायी शिविर बनाएर राखिएको छ ।

आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक, पुललगायतका भौितक संरचनाहरु पनि भत्किएका छन् । फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई घरवारबिहिन हुने गरेका छन् । एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...