अध्यक्ष दाहालद्धारा चितवन महोत्सवको उदधाटन

काठमाडौँ,२५ पुस । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ ।महोत्सव उद्घाटन पूर्व आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो ।

महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ स्थानीय तहसँग मिलेर उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गर्दै आएको छ । यो १२ औँ संस्करण हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार महोत्सवका अवधिमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जालगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी गरिने छ । महोत्सव स्थलमा दैनिक राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने छ ।

महोत्सव प्रदर्शन व्यवस्थापन समितिका संयोजक चुमनारायण श्रेष्ठका अनुसार चार विदेशीसहित २२ जिल्लाका प्रदर्शकले स्टल राखेका छन् । चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टल रहेका छन् । उहांँका अनुसार ५७० स्टल महोत्सवमा रहने छन् ।

यसअघिका महोत्सवमा ५२० सम्म स्टल रहे पनि बढ्दो शहरीकरण र महोत्सवको आकर्षणका कारण स्टल थपिएको श्रेष्ठले बताउनुभयो । महोत्सवमा व्यावसायिक स्टल, कृषि प्रवद्र्धन, सूचना प्रविधिसम्बन्धी स्टल, नेपालमा बनेका हस्तकला प्रर्दशन, शैक्षिक स्टलका साथै सामाजिक संस्थाका स्टल रहेका छन् ।

माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सव नेपाल भ्रमण वर्ष २०२० तर्फ लक्षित छ । चितवनको पर्यटकीय क्षेत्रलाई चिनाई यस जिल्लालाई देशकै पहिलो पर्यटकीय गन्तव्य बनाउन टेवा पुगोस् भन्ने हेतुले महोत्सव स्टलमा वन्यजन्तु तथा पक्षीको मूर्ति राखी कृत्रिम चिडियाखाना निर्माण गरिएको छ ।

उक्त चिडियाखानामा चितवनका गैँडा, बाघ, भालु हात्ती, चराचुरुङ्गीलगायत विदेशमा पाइने जनावरको समेत मूर्ति निर्माण गरिएको छ । यहाँका ५० वटा पर्यटकीय गन्तव्यलाई छनोट गरी पर्यटक गाइड बुक तथा ब्रोसरसमेत तयार गरिएको छ ।महोत्सवलाई थप आर्कषण दिने स्टल ‘मेड इन नेपाल’ रहेको छ । ती स्टलमा नेपालमा मात्रै उत्पादन भएका वस्तुको प्रदर्शन गरिएको छ । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...