मानव सेवा आश्रमको भवन बनाईदिने मेयर शाक्यको घोषणा

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।

शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘आश्रमले जग्गा खोजोस । महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ । आश्रमलाई सबैले सहयोग गर्नुपर्छ । अहिले नेपाल प्रहरीपनि आश्रमलाई सहयोग गर्न हामीसँगै आवद्ध भएको छ । यो खुशीको कुरा हो । अन्य सहयोगी संघ, संस्था र मानव हृदयहरुपनि यसमा आवद्ध हुनुपर्छ ।’

आश्रमका प्रमुख संरक्षक एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले आश्रमको स्थलगत् अवलोकनपश्चात् आफू निकै प्रभावित भएको प्रतिक्रिया दिए ।

उनले भने,‘मैले त आश्रम नै अवलोकन गरेको छु । त्यहाँ पुगिसकेपछिको दृश्य देख्दा म धेरै प्रभावित भएँ । आश्रमका साना–साना भाईबहिनीहरुले त्यहाँ भएका विरामीहरु स्याहारेको देख्दा त म झनै प्रभावित भएँ । त्यति हाम्रो घर परिवारका सदस्यहरुले पनि आफ्नै मान्छे विरामी हुँदा स्याहारसुसार गर्दैनन् होला ।’

राज्यले गर्नुपर्ने दायित्व आश्रमले गरिरहेको आफूले पाएको पनि उनले सुनाए । उनले भने,‘बास्तवमा ती भाईबहिनीहरुको सेवा लोभलाग्दो थियो । उहाँहरुले पैसाको लागि काम गरेको होईन, मानवसेवाको लागि गर्नुभएको हो । काम गर्दा उहाँहरुलाई मिठो निन्द्रा लाग्ला, अरु मैले व्यक्तिगत स्वार्थ देखिँन् ।’

आफूले स्थलगत् अवलोकन गरेपछि आश्रमलाई कुनै न कुनै प्रकारले सहयोग गर्नुपर्छ भन्ने लागेर नै अहिले काठमाडौंको सामाखुशी र बुढानिलकण्ठमा सञ्चालनरत दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको पनि शाक्यले जानकारी दिए । मानव आश्रमको कामलाई प्रोत्साहन गर्नको लागि महानगरपालिकाले भरपुर सहयोग गर्ने पनि उनले वचनबद्धता जनाए ।

कार्यक्रममा आश्रमका अभिभावक एवम् बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले सडकमा भएका मनोरोगीहरुले समयमै उपचार र प्रेम पाउने हो भने उनीहरुको अवस्थामा व्यापक सुधार आउने विश्वास दिलाए । उनले हरेक मान्छेमा सहयोगी र सहृदयको भावना विकास गर्नुपर्नेमा पनि जोड दिए ।

डा. उपाध्यायले उपचार र प्रेमसँगै आश्रममा रहेकाहरुलाई सिप तथा तालिम सिकाएर आत्मनिर्भर बनाउन सकिए उनीहरुको उपचारमासमेत टेवा पुग्ने विश्वास दिलाए ।

आश्रमका प्रमुख संरक्षक डा. टण्डनले संस्था स्थापना भएको ६ वर्षमा देशका विभिन्न जिल्लामा १४ वटा मानव आश्रमहरु सञ्चालन गरिरहेको जनाए । उनले भने,‘सबै आश्रमहरु हामीले भाडामा चलाएका छौं । अब मकवानपुरको हेटौडामा हाम्रो छिट्टै स्थायी आश्रम बन्दैछ । त्यस्तै चितवन र पोखरामापनि हाम्रो स्थायी भवन बन्दैछ ।’

काठमाडौं उपत्यकामा आश्रमको आफ्नै स्थायी भवन बनाउन मेयर शाक्यले महानगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा उनले आभार व्यक्त गरे । टण्डनले भने,‘मेयरज्यूप्रति हामी कृतज्ञ छौं ।’ त्यस्तै उनले आफूहरुलाई राज्यले पनि सहयोग गर्न जरुरी रहेको सुनाए ।
उनले भने,‘नगरपालिका र स्थानीय निकायहरुले हामीलाई विशेष सहयोग गर्नुपर्छ । अझैपनि एकल महिला र ज्येष्ठ नागकिहरुले आवश्यक प्रमाणपत्र र नागरिकता पाउनुभएको छैन् । यसको लागि राज्यले हामीलाई सहयोग गर्नुपर्छ ।’

कार्यक्रमको सञ्चालन भने संस्थाका महासचिव सुशिला केसी (रुपा) ले गरेकी थिईन् भने प्रेस विज्ञप्ती संस्थाका काठमाडौं संयोजक एवम् प्रवक्ता सुमन बर्तौलाले वाचन गरेका थिए । आश्रमले २०८२ सालभित्र नेपाललाई नै खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुरहित राष्ट्र निर्माण गर्ने उद्धेश्य लिएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘यसको लागि नेपाल सरकारले बजेट र स्थानको अभाव हुन नदिनेगरि एक वर्षभित्र खुला आकाशमुनि रात बिताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिने हो भनेपनि त्यसको पुर्ण कार्यान्वयनको लागि मानवसेवा आश्रम प्रतिवद्ध रहेको छ ।’

मानवसेवा आश्रमले अर्को वर्षको जाडोमा कसैलेपनि खुला आकाशमुनी चिसोले कठ्याङग्रीएर मर्न नदिने पनि उद्देश्य लिएको छ । जारी विज्ञप्तीमा थप भनिएको छ,‘मात्र वेसाहारा मानिसको संरक्षणको लागि स्थानिय सरकारले सिफारिसमात्र नभई अभिभावकीय जिम्मेवारी पनि निर्वाह गर्न तयार हुन्छ वा यस किसिमको मानवहरुको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट निति बनाउँछ भने मानवसेवा आश्रम जोसुकै वेसहारा मानिसको संरक्षणका लागि तयार छ ।’

सडकमानवहरुको व्यवस्थापनमा मानवका लागि भइरहेको प्रयास र भावी योजना सम्बन्धि
पत्रकार सम्मेलन
२०७५/०९/२८ गते शनिवार

यस गरिमामय सभाका सभाअध्यक्ष मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यू, मानवसेवा आश्रमको अभिभावकीय संस्था काठमाण्डौं महानगरपालिकाका प्रमुख यस गरिमामय कार्यक्रमका प्रमुख अतिथि आदरणीय विद्या सुन्दर शाक्यज्यू, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव आदरणीय डा.प्रदिप ढकालज्यू, नेपाल प्रहरी काठमाण्डौं परिषरका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक बसन्त लामाज्यू, मानवसेवा आश्रमको सेवालाई तन, मन र धनको त्रिवेणीबाट साथ र सहयोग पु¥याउदै आइरहनुभएका आदरणीय हाम्रा अभिभावक, सहयोगी एवं सुभेच्छुकज्यूहरु, यस परोपकारी कार्यको रिपोटिङका लागि उपस्थित तपाई सम्पुर्ण पत्रकार महानुभावहरुमा सादर नमन् एवं यहाँहरुमा विद्यमान देवत्वलाई प्रणाम ।

२०८२ सालभित्र घरबार विहिन, परित्यक्त, वेसाहारा एवं जीवन नै जोखिममा रहेका मानवहरुरहित नेपाल निर्माण गर्ने उद्देश्यले मकवानपुरको हेटौंडाबाट सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान)को मातृत्वमा सञ्चालित यस मानवसेवा आश्रमले हाल ६ प्रदेशमा १२ जिल्लामा १४ स्थानमा आफ्नो शाखा तथा उपशाखा विस्तार गरि सेवा प्रदान गरिरहेको कुरा जानकारी गराउन पाउँदा हर्ष लागेको छ ।
२०७२ सालमा काठमाण्डौंको सडकपेटी र सार्वजनिक स्थलहरुमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको व्यवस्थापनको लागि मानवसेवा आश्रमको शाखा काठमाण्डौंमा विस्तार भएको थियो ।

राष्ट्रव्यापीरुपमा यस अभियानलाई अघि बढाइरहेको मानवसेवा आश्रमको स्थापना भने २०६९ साल भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट भएको थियो ।

मानवसेवा आश्रमको गतिविधिहरु र यसले सञ्चालन गरिरहेका सहयोगापेक्षी मानवहरुको व्यवस्थापनबारे जानकारी प्राप्त भएपछि खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरुको व्यवस्थापनको आवश्यकतालाई महशुस गरि काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यज्यूले पटक पटक मानवसेवा आश्रमको अवलोकन गरिसकेपश्चात् काठमाण्डौं महानगरपालिका र मानवसेवा आश्रमबीच सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि सहकार्यको सुरुवात भएको थियो । सम्झौता पश्चात् महानगरपालिकाले सेवालाई सहज बनाउन काठमाण्डौंको सामाखुशीमा सञ्चालनमा रहेको एक ओटा घर र सेवालाई बृहत्त बनाउन सहयोग पुगोस् भन्ने मनशायले थप एक घरको समेत घरभाडा तिरिदिनेगरी सम्झौता भएको थियो भने यथाशिघ मानवसेवा आश्रमलाई दिगो बनाउन सम्पुर्ण सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन हुनेगरि संस्थाको आफ्नै भवन निर्माण गर्न दुवै संस्थाले पहल गर्ने सम्झौतामा उल्लेख थियो ।

सोही अनुसार मानवसेवा आश्रमले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ । काठमाण्डौं महानगरपालिकासँगको सहकार्यपश्चात् मानवसेवा आश्रम काठमाण्डौं शाखाले मात्र, आफु स्वयं आफ्ना लागि केही गर्न नसक्ने र पालनपोषण र हेरचााह गरिदिने समेत कोही नभएका करिब ३१६ जनालाई उद्धार गरि सेवा प्रदान गरेको छ ।

जसमा फलामे बाकसमा बन्दक बनाइएका बालकदेखी, शताब्दी पार गरेका बृद्धबृद्धा समेत रहेका छन् । काठमाडौंको विभिन्न स्थानमा गर्भवती अवस्थामा फेला परेका मनोरोगी महिलाहरुबाट जन्मिएका छोराछोरीहरु हाल मानवसेवा आश्रमको बालशाखा गोरखामा संरक्षित रहेका छन् । स्थानियस्तरमा आतकं नै बनेर रहेका कयौं मनोरोगीहरुको संथाले उद्धार गरि उपचार गराईरहेको छ । ट्रमा सेन्टर अगाडिबाट दुवै खुट्टा कुहीएको अवस्थामा फेला पारि उद्धार गरिएको भारतका लल्लु गौंडलार्ई सकुशल भारत मध्यप्रदेश सत्नामा रहेका उनको आफ्नै परिवारमा पारिवारीक पुनर्मिलन गराइएको छ । जसको मृत्युको खवर पाएका परिवारले लल्लुको अन्तिम संस्कार समेत गरिसकेको रहेछन्।
हरेक हप्ताको शनिवार र मंगलबार सडैकमै पुगेर उद्धार गरिने प्रचलन स्थापित गरेको मानवसेवा आश्रमले देशभरबाट यस किसिमका १७५० जना भन्दा बढी सहयोगापेक्षी मानवहरुको उद्धार गरिसकेको छ भने करिब ५०० जनालाई पारिवारीक पुनर्मिलन गराइसकेकोे छ।
पशुपति क्षेत्र विकास कोषले थालनी गरेको मगन्ते रहित पशुपति क्षेत्र घोषणा गर्न होस् वा प्रहरी परिषर काठमाण्डौं टेकुले सुरुवात गरेको खुला आकाशमुनी रात विताउनेहरुलाई जाडोबाट बचाउने अभियान होस् यी दुवैलाई सफल बनाउन मानवसेवा आश्रमले आफ्नो क्षेत्रबाट भरपुर मेहनत गरेको छ।

पशुपति मन्दिर क्षेत्रबाट घोषणाको समयमा करिब ८४ जनालाई उद्धार गरेको यस आश्रमले घोषणा पश्चात्पनि ५० भन्दा बढीलाई उद्धार गरेको छ । हाल पशुपति क्षेत्रमा आएका जो कोही सहयोगापेक्षी मानवहरुलाई मानवसेवा आश्रममा ल्याई सेवा गरिन्छ भने बरालिएर वा पेशा बनाई परिषरमा माग्न निषेधित गरिएको छ ।

भरखरै मात्र काठमाण्डौंमा जाडोबाट बचाउन नेपाल प्रहरीले थालेको अभियानको क्रममा पनि ११० जनालाई आश्रमले संरक्षणमा लिएको छ ।
मानवसेवा आश्रमकै सक्रियताको कारण मकवानपुर जिल्लाई नै आउदो फागुन ४ गते र गोरखा जिल्लालाई चैत्र ५ गते सहयोगापेक्षी सडकमानवहरु रहित जिल्लाको रुपमा घोषणा गर्ने गरी तयारी भइरहेको छ । यस अघि हेटौंडा उपमहानगरपालिका ९ नं. वडा र गोरखा नगरपालिकालाई खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त नगरपालिका घोषणा गरिसकिएको छ ।

६ वटा प्रदेशमा शाखाहरु रहेको यस आश्रमले यस वर्षको अन्तिम सम्ममा शाखा विस्तार गर्न बाँकी रहेको १ नं. प्रदेशमा समेत शाखा विस्तर गरी ७ ओटै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गर्ने र आउदो बर्षदेखी घोषणाका कार्यक्रमहरुलाई व्यापक बनाउने लक्ष्य लिएको छ ।

काठमाण्डौं महानगरपालिका र नेपाल प्रहरीको यहि किसिमको सहयोग रहने हो र भोको पेट भर्नको लागि नभई पेशा बनाएर वा बरालिएर बस्नेहरुलाई भिक्षा माग्न निषेधित ऐन १०१८ अनुसार कानुनी उपचार गर्ने हो भने आगामी ६ महिना भित्र नै खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त महानगरपालिका निर्माण गर्न सकिने छ तर यसको लागि करिब ३०० जनाको सेवा गर्न सकिने किसिमको भवन आगामी बर्ष सम्म बनिसक्ने गरि कार्य सुभारम्भ गर्न जरुरी छ । संस्थाको आफ्नै भवननिर्माण नभइन्जेल सम्मको लागि कम्तिमा १०० जनाको सेवा गर्न सकिने थप एक घर भाडामा लिएरै भनेपनि सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै मकवानपुरको हेटौंडामा सेवालाई दिर्घकालिन बनाउन ३०० जनालाई सेवा दिन सकिनेगरि संस्थाको आफ्नै भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चितवनको भरतपुरमा स्व.भगवानदास श्रेष्ठज्यू र प्रेम कुमार श्रेष्ठज्यूद्वारा भरतपुर ३ चितवनमा ८ कठ्ठा जग्गा प्राप्त भएको छ भने कास्की पोखरामा समेत भवन निर्माणको लागि जग्गा प्राप्त भइसकेको छ । बाग्लुङ्, गोरखा र वीरगञ्जमा स्थानिय नगरपालिका मानवसेवा आश्रमको भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्न सकारात्मक रहेको छन् ।

काठमाण्डौमा संस्थाको भवन निर्माणको लागि काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यज्यू अत्यन्त क्रियाशिल रहनुभएको अनुभुति हामीले गरिरहेको छौं । हाल सम्भावित जग्गाको अवलोकन तथा प्राविधिकले जग्गाको गुणस्तरियता परिक्षण कार्य भइरहेको छ ।
मकवानपुरको हेटौंडामा निर्माण भइरहेको भवनको पुर्णताको लागि आगामी फागुन १३ गतेबाट मानवता प्रवद्र्धन गिता ज्ञान विज्ञान अनुष्ठान आयोजना गर्न लागिएको छ ।

मानवसेवा आश्रमको प्रस्तावलाई महशुस गरि ३ नं. प्रदेश सरकारले सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश निर्माण गर्ने निति पारित गरेको छ भने सोको कार्यान्वयनको लागि समेत मानवसेवा आश्रम र प्रदेश सरकारबीच हुने सहकार्यको ड्राफ्ट निर्माण भइरहेको छ । प्रदेश नं. ४, ५ र ६ अत्यन्त सकारात्मक रहेको हामीले महशुस गरेको छौं ।

हाल मानवसेवा आश्रम मकवानपुरको घरभाडा हेटौंडा उपमहानगरपालिकाले, ललितपुरको ललितपुर उपमहानगरपालिकाले, गोरखाको गोरखा नगरपालिकाले, वीरगञ्जको वीरगञ्ज उपमहानगरपालिका, बुटवलको बुटवल उपमहानगरपालिकाले तिर्दै आइरहेको छ । मानवसेवा आश्रम चितवन, पोखरा र धनगढीको घरभाडा र अन्य सम्पुर्ण व्यवस्थापन, औषधी उपचार, पालनपोषण लगाएतको खर्चहरु संस्थाले नेपाली परोपकारी मनहरुको स्वेच्छिक सहयोगबाट नै जुटाउदै आइरहेको छ ।

मानवसेवा आश्रमले कुनै पनि वैदेशिक दातृनिकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने र संस्था स्वयंले कुनैपनि वैदेशिक दातृ संस्थालाई सहयोगको लागि प्रस्ताव नगर्ने निति लिएको छ ।

नेपालको संविधानले हरेक नागरिकको सम्मानपुर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । गाँस, बास र कपासको अभावको कारण कसैले पनि ज्यान गुमाउन नपर्ने व्यवस्था संविधानमा भएतापनि अधिकांश स्थानिय निकायहरुले यस किसिमका घरबार विहिन, वेसाहारा मानवहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारे कुनै स्पष्ट निति लिएको पाइदैन । सिफारीस बनाइदिने काम मात्र स्थानिय तहले आफ्नो जिम्मेवारी ठान्ने परम्पराको अन्त्य हुन जरुरी छ ।

यस वर्षको जाडोमा मात्र देशभरबाट मानवसेवा आश्रमले २७८ जनालाई सडकबाट संरक्षणमा लिएको छ । यस बर्षको जाडोमा मात्र देशभरबाट मानवसेवा आश्रमले २७८ जनालाई सडकबाट संरक्षणमा लिएको छ भने मानवसेवा आश्रमले हालसम्म संरक्षण दिएको लक्ष्मीनारायण तथा बालगोपालहरुको विवरण निम्नानुसार रहेको छ ।

हाल सम्म भएका सेवा विवरण
कुल उद्धार १७५० जना, आश्रित ६५० जना , परिवारिक पुनर्मिलन ५७७ जना , स्वर्गीय  १९८ जना, स्वच्छिक रुपमा आश्रम छाडेका
३२५ जना

मात्र वेसाहारा मानिसको संरक्षणको लागि स्थानिय सरकारले सिफारिस मात्र नभई अभिभावकीय जिम्मेवारी पनि निर्वाह गर्न तयार हुन्छ वा यस किसिमको मानवहरुको व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट निति बनाउँछ भने मानवसेवा आश्रम जोसुकै वेसहारा मानिसको संरक्षणका लागि तयार छ ।

आश्रमले २०८२ सालभित्र नेपाललाई नै खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरु रहित राष्ट्र निर्माण गर्ने उद्धेश्य लिए पनि नेपाल सरकारले बजेट र स्थानको अभाव हुन नदिनेगरि एक बर्षभित्र खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिने हो भनेपनि त्यसको पुर्ण कार्यान्वयनको लागि मानवसेवा आश्रम प्रतिवद्ध रहेको छ ।
अर्कोबर्षको जाडोमा भने कसैलेपनि खुला आकाशमुनी चिसोले कठ्याङग्रीएर मर्न नदिने उद्देश्य मानवसेवा आश्रमले लिएको छ ।
सबैको मंगल होस्, सबैको कल्याण होस्, प्राणीमात्रको हित होस्, विश्वको जय होस् ।
जय मानवसेवा ! जय मानवता ! !

थप जानकारीका लागि :
श्री रामजी अधिकारी, केन्द्रिय अध्यक्ष : ९८५५०७६००१, ९८५१११२४७० सुमन बर्तौला,, प्रवक्ता÷काठमाण्डौं जिल्ला संयोजक : ९८५५०७६००४, ९८५११२७३३५

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

धेरैले पढेको

Loading...