‘सरकारको काम सन्तोषजनक छैन, तर संविधान संशोधन हुनेमा विश्वस्त छौं’

काठमाडौं, २० माघ । राजपा नेपालका महामन्त्री जितेन्द्र सिंहले आफ्नो पार्टीले संविधान संशोधनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् । उनले भने,‘संशोधनको लागि सरकारसँग कुरा भैरहेको छ । तर, यो मितिमा गर्ने भन्नेबारे अहिले सरकारले भनिसकेको छैन । तर, हामी आशावादी छौं।’

आइतबार रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै महामन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने,‘सरकारले अब संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्छ । यसमा ढिलाई गर्नुहुँदैन् । जति ढिलाई गर्यो, त्यति नै समस्या जटिल हुन्छ।’

सरकारले संशोधनको लागि ठोस निर्णय नगरेपनि आफूहरु सकारात्मक भएर बसेको उनले जनाए । उनले भने,‘हामी त सरकारले छिट्टै संशोधन प्रक्रिया अघि बढाउँछ भनेर कुरेर बसिरहेका छौं । संविधान संशोधनको लागि दुई तिहाई बहुमत चाहिन्छ, र दुई तिहाई त यही सरकारसँग छ । त्यसैले हामीसँग पर्खिनुको विकल्प छैन ।’

उनले संशोधन गर्न सक्दैनौं भनेर प्रधानमन्त्री ओलीले अहिलेसम्म नभनिसकेको पनि विश्वास दिलाए । उनले भने,‘उहाँले संशोधन गर्न सक्दैनौं भनेर भन्नुभएको छैन । त्यही भएर चाँडै संशोधन अघि बढ्छ भनेर हामीले अपेक्षा गरेका छौं ।’

महामन्त्री सिंहले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिनेपनि स्पष्ट पारे । उनले थपे,‘सरकारलाई हाम्रो समर्थन जारी छ । संविधान संशोधनको लागि नै समर्थन जारी छ । हामीले समर्थन फिर्ताको फाईनल अल्टिमेटम रोकिरहेका छौं ।’

फरक प्रसँगमा उनले वर्तमान सरकारको एक वर्ष चित्तबुझ्दो नभएको गुनासो पोखे । उनले भने,‘सरकारले आशातीत प्रस्तुति देखाउन सकेको छैन । यो सरकार स्थायी सरकार हो, तर यसले स्थायीजस्तो काम गर्न सकेन् । सरकार मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नमा चुकेको छ । भ्रष्टाचार न्यूनिकरण पनि गर्न सकेन् ।’

आफूहरु यतिवेला पार्टीलाई सुदृढ बनाउनतर्फ लागिपरिरहेको जनाए । आगामी बैशाखमा पार्टीको पहिलो महाधिवेशन हुने भएकोले पनि आन्तरिक व्यवस्थापनमा आफूहरु जुटेको उनको भनाई छ ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...