पर्यटकीय गतिविधि बढाउन माडीमा पूर्वाधार निर्माण

भरतपुर,२६ माघ । ऐतिहासिक धार्मिक, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरपुर चितवनको माडी क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माण गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको हो ।

नगरप्रमुख ठाकुरप्रसाद ढकालले यहाँका पर्यटकीय क्षेत्र पहिचान गरी पूर्वाधार निर्माण र प्रचारप्रसारलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । “उहाँले भन्नुभयो, “शून्य अवस्थामा रहेको पर्यटन पूर्वाधार निर्माणको काम भर्खर शुरु गर्दैछौँ, पूर्वाधार विकासमा मात्रै यस वर्ष करीब रु तीन करोडको काम हुँदैछ । राष्ट्रिय महत्व बोकेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्वमेश्वरलाई मुख्य गन्तव्यको रूपमा स्थापित गर्नेगरी काम भइरहको छ ।”

स्वमेश्वरमा पुग्ने सडक र अन्य भौतिक संरचनाको निर्माण तथा पुनःनिर्माणको काम भइरहेको नगरप्रमुख ढकालले बताउनुभयो । माडी क्षेत्रमा गोद्धक, परशुराम कुण्ड, पाण्डवनगर, स्वमेश्वर, वाल्मीकि आश्रम, बैकुण्ठेश्वरधाम, महादेव मन्दिर, सीतागुफा, विक्रम बाबालगायत धार्मिक महत्वका पर्यटकीयस्थल छन् ।

स्वमेश्वरमा केन्द्र सरकारले घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यअन्तर्गत रु ५० लाख, स्वमेश्वर क्षेत्र विकास समितिको रु ४१ लाख, स्वमेश्वरगढी सूचना केन्द्र निर्माणका लागि प्रदेश सरकारको रु ४० लाख, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत रु ३५ लाख, सडक बोर्डको रु ६० लाख र नगरपालिकाका तर्फबाट रु ३८ लाख रकम विनियोजन भएको छ । यस्तै बैकुण्ठेश्वरधामका लागि प्रदेश सरकारले करीब रु एक करोड रकम विनियोजन गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

नेपाल आउने विदेशी पर्यटक र चितवन आउने आन्तरिक पर्यटकको बसाइँ लम्ब्याउन पनि माडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकास गर्नु आवश्यक रहेको नगरप्रमुख ढकालको भनाइ थियो । परशुराम कुण्ड पुग्ने बाटो निर्माणका लागि माडी पर्यटन विकास समिति मार्फत रु नौ लाख विनियोजन भएकाले काम शुरु गरिएको छ । यस्तै पुष्पवाटिका पार्कको गुरुयोजना निर्माण अघि बढेको र त्यसमा प्रदेश सरकारका तर्फबाट करीब रु एक करोड प्राप्त हुने नगरपालिकाले जनाएको छ ।

सौराहा, जगतपुर, पटिहानी, मेघौलीलगायत चितवनका पर्यटकीय क्षेत्रसँग निकट रहेको माडीमा पर्यटकीय गन्तव्य धेरै भएर पनि ओझेलमा परेको छ । विभिन्न निकायबाट स्वीकृत भएका योजना भर्खर कार्यान्वयनको चरणमा छन् । माडीको पूर्वमा पर्सा, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतर्फ भारतको बिहार पर्छ । धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा रामनवमी र चैते दशँैमा ठूलो मेला लाग्छ । यहाँको पुरानो दौप्रदी कुण्ड, पुराना मूर्ति, इनारहरु संरक्षणमा सरोकारवालाले चासो देखाउन थालेका छन् ।

“परशुराम कुण्ड जाने गोरेटो बनाउन लागेका छौँ”, पर्यटन विकास समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले भन्नुभयो, “परशुराम कुण्ड जाने बाटो सहज भए यो स्थल पर्यटकको रोजाइमा पर्न सक्छ ।” उहाँले निकुन्जसँग समन्वय गरेर पूर्वाधार निर्माणको काम अघि बढाइने बताउनुभयो । पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि वेवसाइट निर्माण र पर्यटन हाते पुस्तिका प्रकाशनको तयारी भइरहेको र त्यसका लागि सूचना तथा तस्वीर सङ्कलनको काम भइरहेको र तीन वर्षभित्र माडीमा पहिलो चरणको पूर्वाधार निर्माणको काम सम्पन्न गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

माडीको वैकुण्ठ क्षेत्रमा शिवालय मन्दिर, रामसीता मन्दिर, अजिङ्गरे छहरा, वैकुण्ठ ताल, पिकनिकस्थल छन् । सौराहा जोड्ने गरी पैदलमार्ग बनाइने र त्यसले पर्यटकको आवागमन बढ्ने जानकारी दिँदै उहाँले तेस्रो पर्यटकीय गन्तव्यस्थल जिल्लामा रहे पनि यहाँ पर्यटक कम आउने गर्छन् भन्नुभयो । चारैतर्फ जङ्गलले घेरिएको रमणीय उपत्यका भए पनि माडीको पर्यटन बत्तीमुनिको अँध्यारोजस्तै बन्न पुगेको स्थानीयवासीको गुनासो थियो ।

माडीका चार ठाउँमा सांस्कृतिक घरबास

माडीमा पर्यटकलाई आकर्षण गर्न र उनीहरुको बसाइँ लम्ब्याउन थप तीन ठाँउमा घरबास ९होमस्टे० को व्यवस्था गरिने भएको छ । अहिले शिवद्धारमा मात्रै मगर समुदायले घरबास सञ्चालन गरिरहेका छन् । अन्य तीन ठाउँमा घरबास निर्माणको तयारी भइरहेको नगरप्रमुख ढकालले जानकारी दिनुभयो । माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायको संस्कृति झल्किने गरी घरबास निर्माणका लागि बजेट विनियोजन भएको छ । नगरपालिकाबाट रु ५० लाख र तराईमधेस समृृद्ध कार्यक्रममार्फत रु २५ लाख रकम बोटे घरबास निर्माणका लागि विनियोजन भएको उहाँले बताउनुभयो । सोही घरबासका लागि विदेशी संस्थाले पनि सहयोग गर्ने उहाँको भनाइ छ ।

यस्तै नगरपालिकाको वडा नं ३ बघौडामा थारू घरबास र वडा नं ९ मा राई घरबास निर्माण गरिने भएको छ । शिवद्धारमा रहेका ११ घरबासको क्षमता विस्तार गर्दै २० बनाउने तयारीसमेत नगरपालिकाले गरेको छ । माडीको पाण्डवनगरमा छ बिघा जग्गा किनेर विदेशी लगानीकर्ताले रिसोर्ट निर्माणको समेत तयारी गरिरहेको नगरप्रमुख ढकालले बताउनुभयो ।

ट्रकमा बस ठोक्किदा १६ घाइते

चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा १६ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८८४६ नंको बस बिग्रेर रोकिराखेको ना६ख ८१८५ नंको ट्रकमा पछाडिबाट ठक्कर खाँदा बसमा सवार १६ घाइते भएका हुन् ।

गएराति १ः४५ बजे भएको सो दुर्घटनामा घाइतेमध्ये १४ को पुरानो मेडिकल कलेज र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । बस र बसका चालकलाई मुग्लिन इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस


ताजा खबर

Loading...
Loading...
Loading...