आठौँ राष्ट्रिय खेलकूद र साग ढोकामा, रंगशाला भने अलपत्र

माघ २६, काठमाण्डौ । सरकारले जतिसुकै काम गरेको दावी गरे पनि विकास निर्माणसँग सम्बन्धित विभिन्न क्षेत्र अस्तव्यस्त छन् । त्यसैमध्येको एक हो खेलकूद क्षेत्र । एक वर्षभित्र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ दक्षिण एसियाली खेलकूद प्रतियोगिता नेपालमा हुँदैछ । तर तयारी भने सन्तोषजनक छैन ।

१३ औँ दक्षिण एसियाली खेलकूद (साग) आगामी सेप्टेम्बरमा सम्पन्न गर्नुपर्नेछ । तर भौतिक संरचना अस्तव्यस्त छ । सरकारको पूरै लगानी रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भूकम्पपछि प्रयोगविहिन छ । सागका लागि तयारी गर्ने भन्दै थालिएको पुनः निर्माणले पूर्णता पाएको छैन ।

सागको तयारीस्वरुप भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले दावी गर्नुभएको छ । केही दिनअघि रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा भिआइपी प्यारापिटको छाना हाल्न मात्रै बाँकी रहेको उहाँको दावी छ । सागका लागि प्रयोग हुने ललितपुर सातदोबाटो र पोखराको रंगशाला पनि तयारी अवस्थामा छैन ।

साग अगाडि नै गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको पनि तयारी भइरहेको छ । मन्त्री विश्वकर्माले दुवै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गराउने प्रयास भइरहेको जानकारी दिनुभएको छ । सागको तयारी पूरा गर्न नसकेकै कारण यसअघि तोकिएको मार्चको मितिलाई नेपाल सरकारले नै सेप्टेम्बरमा पुर्याएको थियो । तर अब सेप्टेम्बरमा पनि प्रतियोगिता हुने हुनेमा मन्त्री विश्वकर्मा नै विश्वस्त हुन सकेको देखिएन ।

सन् २०१८ भित्र हुनुपर्ने १३ औं साग पूर्वाधारकै कारण धmण्डै एक वर्ष सरेको हो । हरेक पटक नयाँ मन्त्री आउँदा पूर्वाधारलाई प्राथमिकता दिइएको हुन्छ । तर ती पूरा भएका छैनन् ।


ताजा खबर

Loading...
Loading...
Loading...