जिल्लाका सबै वडामा हेलिप्याड बनाइने

गलकोट,२६ माघ । बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ ।तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरिएको उक्त समितिले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा रात्रिकालीन हेलिप्याड र प्रत्येक वडामा हेलिप्याड निर्माणका लागि स्थानीय तह सहमत भई आवश्यक जग्गा उपलब्ध गराउन पनि पहल भइरहेको बताइएको छ । कुनै पनि प्रकारका घटना सुत्केरी र आगलागीका बेला तत्काल उद्धार तथा राहतका लागि हेलिकोप्टर अतिआवश्यक भएकाले स्थानीय तहलाई हेलिप्याड निर्माण गर्न आग्रह गरिएकामा सहमति आइसकेको समितिका अध्यक्ष वेदप्रसाद खरेलले बताउनुभयो ।

सरकारले सुत्केरीको उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने योजना ल्याएका कारण वडावडामा हेलिप्याड निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । कुनै पनि घटनाका बेला हेलिकोप्टरबाट उद्धार गर्न अतिसहज हुने भएकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गर्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “स्थानीय सरकार आइसकेपछि जनतालाई कसरी सेवासुविधा दिने भन्नेमा केन्द्रित छौँ”, उहाँले भन्नुभयो, “जनताको जिउधनको सुरक्षा गर्ने हाम्रो दायित्व हो ।”

दुर्गम क्षेत्रमा तत्कालै उद्धार गर्ने महत्वपूर्ण साधनको रूपमा रहेको हेलिकोप्टर अवतरणका लागि हेलिप्याड निर्माण गर्न लागिएको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताउनुभयो ।बागलुङ जिल्लामा गत साउनदेखि पुस मसान्तसम्म दैवीप्रकोपको घटनामा पाँच जनाको ज्यान जानका साथै ठूलो परिणममा धनमाल पनि नष्ट भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ८५ वडा छन् । हेलिप्याडका लागि आवश्यक प्राविधिक सहयोग नेपाली सेनाबाट लिइने र यसमा सकेसम्म सरकारी जग्गा नभए स्थानीयवासीको समन्वय र व्यवस्थापनमा प्राप्त जमीन उपयोगमा ल्याइने स्थानीय तहले जनाएका छन् । रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...