मन्त्रीहरु हेरफेर गर्ने ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

काठमाडौं, २८ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको पछिल्लो समयको भेटवार्तामा मन्त्रीहरु हेरफेरबारे कुराकानी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सरकार गठन भएको एक वर्ष पुग्न लागेको अवसरमा अब मन्त्रीहरुलाई हेरफेर गरेर भएपनि अगाडि बढ्ने पक्षमा प्रधानमन्त्री ओली पुगेका छन् । प्रचण्डसँगको भेटवार्तामा ओलीले यसबारेमा प्रस्ताव राखेका थिए । तर, ओलीको प्रस्ताव प्रचण्डले अस्विकार गरिदिएका छन् ।

भेनेजुएला प्रकरणमा जारी वक्तव्यलाई लिएर अध्यक्षद्धयबीचको सम्बन्धमा दरार उत्पन्न भएपनि पछिल्लो समय सरकार सञ्चालनबारे ओलीसँग प्रचण्डको असन्तुष्टि रहेको नेकपानिकट स्रोतको दाबी छ ।

हालै बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले एक वर्ष पुगेको अवसरमा सरकारका मन्त्रीहरुको कामको मुल्यांकन गरौं भनेर प्रचण्डसँग आग्रह गरेका थिए । तर, प्रचण्डले अहिलेकै मन्त्रीहरुलाई कडाईका साथ आफ्नो भूमिकामा उत्रिन चेतावनी दिनुपर्नेमा जोड दिएका छन् ।

प्रचण्ड तत्काल मन्त्रीहरु हेरफेर गर्न चाहँदैनन् । ओली–प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएकोले तत्काल मन्त्रिमण्डल पूर्नगठन गर्ने पक्षमा प्रचण्ड छैनन् ।

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...