बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या

लम्की, २९ माघ । कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका कारण उनको स्वास्थ्यमा समस्या सिर्जना भयो ।

पार्वतीले ३५ वर्षकै उमेरमा पाठेघर फाल्नुपरेको घटना सुनाउँंदै भनिन् – “त्यो बेला सानैमा विवाह गरिदिए । सानै उमेरमा गर्भवती भएकै कारण मेरो पाठेघर फाल्नुप¥यो ।” त्यतिखेर पोषिलो खानेकुरा खान पाएको भए, विवाहपछि पनि विद्यालय पढ्न पाएको भए जीवन फरक हुन्थ्यो होला भन्ने उनलाई अहिले पनि लाग्छ । अहिले ४५ वर्ष पुगेकी पार्वतीले भनिन् – “कक्षा ७ मा पढ््दा पढ्दै विवाह भयो । विवाह पछि पढ्न पाइएन ।” अहिले उनलाई कम्मर दुख्ने, आ“खा कम देख्ने, हातखुट्टा दुख्ने जस्ता समस्याले सताइरहन्छन् । नियमित काम पनि गर्न कठिन रहेको र औषधिको सहारामा बाँचेरहेको उनी बताउँछिन् ।

लम्कीकी धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो । धना १३ वर्षकी हुँदा उनका श्रीमान् रघुनाथ जैसी १५ वर्षका थिए । विवाह लगत्तै धना गर्भवती भइन् । त्यसपछि उनका श्रीमान् रघुनाथ धन कमाउन भारत गए । भारतमा उनले गाडी चालकको काम गर्थे । वर्षमा एकपटक घर आउँथे । धनाले लगातार नौ बच्चा जन्माइन् । पाँच बच्चाको स्याहार र उपचार नपाएर बाँचेनन् । उनका चार बच्चाले राम्ररी पढ्न लेख्न पाएनन्् । उनले भनिन् – “श्रीमान्को कमाइले घर चलाउनै धौधौ भयो । कसरी छोराछोरी विद्यालय पठाउनु रु वरिपरिका हुनेखाने परिवारका बच्चाहरु त पढ्न जान्थे । मेरा केटाकेटीले त पेटभरि खान पनि पाएनन् ।”

जोशीपुरकी रमिला चौधरीले विद्यालय पढ््दापढ्दै प्रेम गरेर १५ वर्षमै भागी विवाह गरिन् । विवाह भएको डेढ वर्षमै छोरी जन्मिइन् । रमिला भन्छिन् – “परिपक्व उमेर नभएरै बच्चा जन्माएका कारण त्यसपछि गर्भ रहन सकेन । निरन्तर रक्तस्राव हुन थाल्यो । उपचारका लागि भारतको बरेली गयौं । डाक्टरले पाठेघर फाल्न सल्लाह दिए ।” उनी अगाडि भन्छिन् – “मेरो त आ“खा अगाडि पूरै अँध्यारो भयो । पाठेघर नफाले क्यान्सर हुनसक्ने भनेपछि २१ वर्षकै उमेरमा पाठेघर फालेर आएँ ।” त्यसपछि रमिलाका श्रीमान् उनीसँग रमाउन छोडे । उनले छोरा चाहिन्छ भन्दै अर्को विवाह गरे । उनी भन्छिन् – “पढ्ने समयमा पढिनँ । अब केही काम गर्न पनि सक्दिनँ । छोरा जन्माउन पनि नसक्ने भएपछि श्रीमान्को निर्णय स्वीकार गरें । अहिले सहेर बसेकी छु । सानै उमेरमा गरेको विवाह अभिशाप भएको छ ।”

कलिलै उमेरमा विवाह गरेका कारण सुदूरपश्चिममा यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ । अहिले पनि सुदूरपश्चिममा बालविवाह हुने गरेको छ । बालविवाहका कारण पुरुषलाई आिर्थक भार बढ्न पुग्छ भने महिलाको शारीरिक, मानसिक विकास अवरुद्ध हुन जान्छ । अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ । बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यान समेत जाने गरेको छ ।

अधिकारकर्मी कल्पना उपाध्याय सानै उमेरमा विवाह गर्दा महिलालाई शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको बताउँछिन् । उनका अनुसार अझ सुत्केरी अवस्थामै ग¥हौं भारी बोक्नुपर्ने, दैनिक काममा जोतिनुपर्ने जस्ता समस्याले स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको छ । उपाध्याय भन्छिन् – “सानै उमेरमा गरिने विवाहका कारण विद्यालय छाड्नु परेको छ । शारीरिक र मानसिक अवस्थामा परिपक्व नहुँदै घरपरिवार र बच्चाको जिम्मेवारी उठाउनु परेको छ । यसकारण उनीहरुका बालबालिकासमेत आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन् ।”

अर्का अधिकारकर्मी कमला केसी बालविवाहले महिलामाथि हिंसा बढाइरहेको बताउँछिन् । केसी भन्छिन् – “शिक्षा र रोजगारी नभएका कारण महिलामाथि थप हिंसा भइरहेको छ ।”

कानूनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरीहरु शारीरिक र मानसिक रुपमा परिपक्व हुन्छन् । उनीहरुमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ । उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबै खाले समस्या हुने गरेको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले बताइन् ।

बालविवाह अन्त्यका लागि थुप्रै कानूनी तथा नीतिगत प्रावधानहरु बनेका छन् । सविधानले कानून विपरीत कार्य गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ । बालविवाह न्यूनीकरणका लागि थुप्रै सङ्घसंस्थाहरु लागिपरेका भए पनि बालविवाह हुने क्रम नरोकिएको सिनियर अहेब शकुन्तला रोकाया बताउँछिन् । रोकायाका अनुसार स्वास्थ्य संस्थामा अहिले पनि सुत्केरी हुने ३० प्रतिशत आमाहरु २० वर्षमुनिका रहेका छन् ।

नेपालको कानूनअनुसार २० वर्ष उमेरभन्दा अगाडि गरिने विवाह बालविवाह हो । उमेर नपुगी भएको विवाहलाई गैरकानूनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ तर, समाजमा अझै पनि बालविवाहको अभ्यास हँुदै आएको छ । युनिसेफले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाह उच्च हुने दक्षिण एशियाली देशहरुमध्ये नेपाल तेस्रो स्थानमा पर्छ । नेपालको अन्य ठाउँको तुलनामा सुदूरपश्चिम प्रदेशमा बालविवाह बढी हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजारको हाराहारीमा बालविवाह हुने गरेका छन् । नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र दिगो विकास लक्ष्य अनुरुप सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर पनि गरेको छ ।रासस

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...