एसइईका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक

काठमाडौं १ फागुन । माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र यस वर्षदेखि प्रदेशगत रूपमा तयार हुँदै छन् । प्रदेशअनुसार फरक–फरक प्रश्नपत्र तयार गरी ७२ सुरक्षाकर्मीको तीन घेरामा जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गर्ने तयारी छ ।

६ वटा अनिवार्य विषयमा प्रदेशस्तरीय प्रश्नपत्र हुने भए पनि ऐच्छिक विषयमा भने विद्यार्थी कम हुने भएकाले एउटै प्रश्नपत्र बनाइनेछ । १० चैतबाट सञ्चालन हुने परीक्षाका लागि ३ फागुनदेखि प्रश्नपत्र छपाइ सुरु गर्ने तयारी छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा प्रश्नपत्र छाप्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष खगराज बरालका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरी राखेर प्रश्नपत्र छपाइ गरिनेछ । सेना २७, सशस्त्र प्रहरी ३० र नेपाल प्रहरीका १५ सुरक्षाकर्मी प्रश्नपत्रको सुरक्षामा खटिने भएका छन् ।

सचिव बरालले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा संवेदनशील भएकाले तीन घेरामा सुरक्षाकर्मी राखेर प्रश्नपत्र छपाइ हुन लागेको बताए । एसइईको नतिजा लेटर ग्रेडिङ प्रणालीमा आउन थालेपछि सुरक्षाको जोखिम कम भए पनि संवेदनशील विषय भएकाले सुरक्षा व्यवस्था राम्रो बनाएको उनले बताए ।

परीक्षालाई व्यवस्थित बनाउन मन्त्री पोखरेलको निर्देशन
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा परीक्षाको तयारीका सन्दर्भमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको राम्रो तयारी गर्न निर्देशन दिए । प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिन आग्रह गरे ।

एक हजार नौ सय ६१ परीक्षा केन्द्र
आगामी १० चैतदेखि सुरु हुने एसइई परीक्षा सञ्चालनका लागि देशभरमा एक हजार नौ सय ६१ परीक्षा केन्द्र कायम गरिएको छ । अघिल्लो वर्ष एक हजार नौ सय ५४ केन्द्र थिए । एसइईका परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार सबैभन्दा बढी काठमाडौंमा एक सय १२ केन्द्र हुने भएका छन् । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक केन्द्र कायम गरिएको छ ।

यस वर्ष नियमिततर्फ पाँच लाख ११ हजारले रजिस्ट्रेसन फारम भरेकामा अहिलेसम्म तीन लाख ८४ हजारले परीक्षाको आवेदन भरेका छन् । आवेदन भर्ने समय १० फागुनसम्म छ । उत्तरपुस्तिका परीक्षणका लागि करिब ६२ वटा उपपरीक्षण केन्द्र कायम गरिएको छ । नयाँपत्रिकाबाट


ताजा खबर

Loading...
Loading...
Loading...