पूर्व एमालेलाई प्रचण्डको प्रश्न : जनयुद्ध दिवसको महत्व विचार नगरिएको हो कि ?(भिडियोसहित)

 

फागुन १, काठमाण्डौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसमा पूर्व एमालेका तर्फबाट शीर्ष नेताहरुको उपस्थिती नभएकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

नेकपाले मनाएको जनयुद्ध दिवसमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने सहभागि थिएनन् । पूर्व एमालेकोतर्फबाट हालको नेकपाका सचिवालयका महासचिव विष्णु पौडेल दाहालको दायाँतर्फ बसेका थिए भने संसदीय दलका उपनेता सुवास नेम्वाङ बायाँतर्फ बसेका थिए ।

कार्यक्रममा नेकपाका शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतको अनुपस्थितीले पार्टी एकता अझै मजबुत नभएको संकेत गरेको छ । बामदेव गौतम भने झुलुक्क पुगेर फर्किए, मञ्चमै पुगेनन् ।

विगतमा तत्कालिन माओवादीले गरेको जनयुद्धलाई लामो समयसम्म आलोचना गर्दै आएका पूर्व एमालेका नेताहरु पार्टी एकता भएपछि त्यस विषयमा बोल्नै छाडेका छन् ।

आजको कार्यक्रममा दाहालले तत्कालिन एमालेका नेता मदन भण्डारीलाई भने सम्झिए । दाहालले मदन भण्डारीको स्मृति दिवसका दिन पार्टी एकता गरेर उनलाई सम्मान गरिएको स्मरण गर्दै आजको जनयुद्ध दिवसमा पूर्व एमालेका नेताहरुको सहभागिता कम भएकोप्रति अप्रत्यक्ष रुपमा असन्तुष्टी व्यक्त गरे ।

“नेपाल कम्युनिष्ट पार्टीका सबै नेता सहभागि भएर देशभरी नै जनयुद्ध र जनआन्दोलनका शहिदहरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दैछौँ ।” यसबीचमा पटकपटक नेम्वाङतिर फर्किएका दाहालले थपे–“यसो हेर्दा त मानिसहरुलाई यसभित्र बैचारिक महत्व र अर्थ छ भन्ने कुराको राम्रोसँग विचार नगरिएको पनि हुन सक्छ ।”

दाहालले आफूहरुले मदन भण्डारीको स्मृति दिवस स्वीकार गरेकाले जनयुद्धदिवसलाई पनि सहजै स्वीकार गर्न घुमाउरो भाषामा आग्रह गरे । “भावनात्मक र सांस्कृति एकताको अवसरको रुपमा लिनुपर्दछ ।”

केही असन्तुष्टी व्यक्त गरेपछि दाहालले सहानुभूति पनि व्यक्त गरे । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीको असन्तुष्टीका बारेमा मुख खोलेरै दाहालले भने–“म भर्खर वालुवाटारबाट आएँ । ओलीजी व्यस्त हुनुहुन्छ । कार्यक्रममा सहभागि हुने भन्ने थियो । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा उहाँमा कामको चाप छ । आजको दिन मनाउने निर्णय हामी दुवै अध्यक्षले गरेका हौँ ।”

मदन भण्डारीको स्मृति दिवसमा पार्टी एकता र फागुन एक गते जनयुद्ध दिवस मनाउने विषयमा पार्टीभित्र सर्वसम्मत भएको उनले दावी गरेका छन् ।

अध्यक्ष दाहालले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आग्रह पनि गरेका छन् । समृद्धिको यात्राका लागि सबै कम्युनिष्टहरु एक भएर विश्वलाई नै उदाहरण प्रस्तुत गर्न आग्रह गरे ।

मोहन वैद्य र नेत्रविक्रम चन्दलाई लक्षित गर्दै दाहालले विगतमा जनयुद्धमा संलग्नपक्षलाई पनि एकतामा आउन आउन आग्रह गरे । एक भएर समाजवादको जग बसाल्नुको विकल्प नभएको भन्दै दाहालले पटकपटक एकताका लागि आग्रह गरे ।

देशलाई सफल बनाउनका लागि एक दुई जना नेता वा समुह मात्रै लागेर नहुने भएकाले सबै एकजुट हुनुको विकल्प नभएको दाहालको भनाई छ ।

दाहालले कम्युनिष्ट एकता, संविधान निर्माण, तीन तहको निर्वाचन र सरकार गठन लगायतका काम गरेर संसारलाई नै आश्चर्यपार्ने काम भएको पनि बताए । उनले संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने अवस्था आएको पनि बताए ।
दाहालले सबै ध्यान आकर्षित हूँदा नेकपाको एकतालाई अझ सुदृढ बनाउने बताए ।

उनले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे । अहिले दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको उनको दाबी छ ।

पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए ।

तस्विर : मुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...