न्यायाधीशमाथि छानबिन गर्न अख्तियारको पत्र

काठमाडौं २ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि घूस प्रकरणमा अनुसन्धान गरी कारबाही गर्न न्यायपरिषद् सचिवालयलाई पत्र पठाएको छ ।

सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै सेवाग्राहीसँग लिएको घूससहित पक्राउ परेका नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँकै सल्लाह र सहमतिमा घूस लिएको बयान दिएपछि अख्तियारले न्यायपरिषद्लाई पत्र पठाएको हो । अख्तियारद्वारा जारी विज्ञप्तिमा बानियाँमाथि अनुसन्धान गर्न आफूले प्राप्त गरेका प्रमाण र कागजातसहित न्यायपरिषद्मा पत्र पठाइएको उल्लेख छ । संविधान र कानुनअनुसार न्यायाधीशमाथि अनुसन्धान गर्न आयोगको क्षेत्राधिकार नभएकाले बानियाँमाथि छानबिन गरी कारबाही गर्न पत्र पठाइएको अख्तियारले जनाएको छ ।

‘नासु चालिसेले बरामद भएको ५ लाख न्यायाधीश बानियाँको इजलासमा विचाराधीन सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरिदिने भनी सल्लाह र सहमतिमा लिएको उल्लेख गरेकाले बानियाँको हकमा अनुसन्धान गर्न प्राप्त प्रमाण कागजातसहित न्यायपरिषद्मा लेखी पठाइएको छ,’ अख्तियारको वक्तव्यमा छ । घुस प्रकरणमा नासु चालिसेले न्यायाधीश बानियाँको नाम पोलेको सार्वजनिक हुनासाथ न्याय परिषदले उनलाई दायित्वबाट हटाई आफ्नै सचिवालयमा तानिसकेको छ ।

चालिसे न्यायाधीश बानियाँकै इजलासमा कार्यरत थिए । अख्तियारले चालिसेविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । चालिसेसँग ५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ । कान्तिपुरबाट

Comments

Loading...
Loading...

ताजा खबर

धेरैले पढेको

Loading...