….ऋषिजी के गरम् त मैले : अग्नी सापकोटा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद साम्य भएको छैन । सांगठनिक एकताका लागि बनेको कार्यदल भंग गरिएपछिको उपलब्धि अहिलेसम्म देखिएको छैन । सत्तारुढ दलको आन्तरिक विवादले देश र जनताको हितमा गर्नुपर्ने काम नै प्रभावित भएको छ । पार्टीको विवाद र सरकारको काम प्रभावकारी किन हुन सकेन ? यिनै विषयमा केन्द्रिति रहेर ऋषि धमलाले नेकपाका नेता अग्नी सापकोटासँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
अग्नी सापकोटा, नेता, नेकपा

नेकपाभित्रको विवाद के भइरहेको छ ?
सहमति हुन्छ ।

तर आन्तरिक एकता भएको देखिदैन नि ?
एकता प्रक्रियामा बिलम्ब त भएको छ । तर अब धेरै समय अड्किदैन । आन्तरिक एकता अब सुदृढ हुन्छ ।

नेता कार्यकर्ताले कहिलेसम्म जिम्मेवारी पाउलान् ?
यो महिनाभित्रमै सबै टुङ्गिन्छ । नत्र त धेरै ढिला हुन्छ ।

मन्त्रीमण्डल पुनर्गठन हुन लागेको हो ?
यो विषयमा चाँही मैले ठ्याक्कै अध्यक्षहरुसँग कुरा गरेको छैन । म धेरै जानकार छैन ।

तपाई त अध्यक्ष प्रचण्डसँग निकट नेता हो । थाहा पाउनुपर्ने ।
निकट भए पनि यो विषयमा थाहा छैन । म जिल्लातिरको काममा बढि व्यस्त छु ।

जिल्लातिर किन जानुभएको ? भाषण गर्न ?
जनताको काम गर्न आएको हो । विकास निर्माणका काम गर्दैछु ।

तर जनताले आशा गरेजस्तो काम देखिएको छैन नि ?
हो । हामीले जनतालाई धेरै आशा देखाएका थियौँ । तर त्यसअनुसार काम गर्न सकेका छैनौँ । जनताको गुनासो जायज छ । अब जनताको गुनासो सम्बोधन गर्नुपर्छ ।

कसरी हुन्छ गुनासो सम्बोधन ? भाषण मात्रै गर्नुहुन्छ ?
अब गुनासो सम्बोधन गर्नुपर्छ । काम गर्न केहीले पनि रोकेको छैन । अब केको कमी छ र ? समय छ । शक्ति पनि छ । वातावरण पनि बेनेको छ । अब जनताको माग सम्बोधन गर्नुबाहेक अरु के काम छ र ?

तर जनताहरु त नेताको भाषणबाट दिक्क छन् नि ?
अब काम गर्छौँ । भाषण होइन, एक्सनमा जानुपर्छ । जनताले रिजल्ट खोजेका छन् । तत्कालिन, अल्पकालिन, दिर्घकालिन योजनाहरुको श्रृखला निर्माण गरिएको छ । सरकार बनेको एक वर्ष भयो । अब तथ्यपरक, व्यवहारिक र वैज्ञानिक समिक्षा गरेर जानुपर्छ । जनताको तहबाट आएका सबै कुरा सुन्नुपर्छ ।

चिनसँगको तातोपानी नाका कहिले खुल्छ ?
अब मे महिनासम्म खुल्छ । चुनावको बेला पनि मैले खुल्छ भनेको थिएँ । तर भनेजस्तै त हुँदैनरहेछ । विभिन्न कारणले गर्दा यताउता हुँदोरहेछ । तर अब खुल्छ । युद्धस्तरमा चिनले मितेरी पुल र बाटो बनाइरहेका छन् ।

तपाईले के पहल गर्नुभयो ?
मैले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई २ पटकसम्म लगिसकेँ ।

मन्त्रीले त भाषण मात्रै गर्छन् । कसरी काम हुन्छ ?
ऋषिजी के गरम् त मैले ? मन्त्रीलाई लगेर देखाइदिएर यसो गर्नुपर्यो, जनताको माग यो छ, जनताकोबीचमा उहाँले बोल्नुभएको छ । मैले त अहिले सांसदको हैसियतले यति नै गर्न सक्छु ।


ताजा खबर

Loading...
Loading...
Loading...