संसदमै महिला हिंसा छ : चन्दा चौधरी

निर्मला पन्तका बलात्कारीलाई सरकारले लुकाएको छ

फागुन २४, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरेकी छिन् ।

एक सय नवौँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कारमा आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन् ।

क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन् । “निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ । तर सरकारले लुकाएको छ । गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?” चौधरीले भनिन् ।

बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड छ ।

चौधरीले समाजमा मात्रै नभै संसदमा पनि महिला हिंसा हुने गरेको उनले बताइन् । बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो । चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो ।

“संसदमा महिलालाई शोपिस बनाइयो । अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन । प्रत्यक्षमा चुनाव लड्न तयार छौँ ।” उनले भनिन् ।

उनले मिडियाले पनि महिलाको आवाजलाई कम महत्व दिएको आरोप लगाइन् । “हामीले बोलेका कुरा किन महत्वपूर्ण मानिदैन ? पुरुष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ ।” उनले गुनासो गरिन् ।

चौधरीले नेपालमा भएका भ्रष्टाचारका अधिकांश घटनामा पुरुषहरु नै संलग्न रहेको आरोप लगाइन् । जुन निकायमा पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले महिलाको भूमिका प्रभावकारी भएको ठाउँमा भ्रष्टाचार नभएको दावी गरिन् ।

आफूहरु प्रधानमन्त्री बनेर देश संचालन गर्नसमेत योग्य भएको उनले बताईन् ।


ताजा खबर

Loading...
Loading...
Loading...