राप्रपाद्वारा आन्दोलन घोषणा, हिन्दु राष्ट्र पुनःस्थापनाको माग

काठमाडौं ३ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै डेढ महिना लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

चैत १५ मा सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घण्टा राजमार्ग र चोकहरूमा सत्याग्रह गरी सकिने राप्रपाले जनाएको छ । राप्रपाद्वारा जारी विज्ञप्तिअनुसार चैत १६ सम्म प्रचारप्रसार, १७ देखि २३ सम्म देशव्यापी हस्ताक्षर संकलन र २५ मा जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहदरबारमा एक घण्टा धर्नाको कार्यक्रम राखिएको छ । चैत २८ मा स्थानीय तहको केन्द्रमा एक घण्टा धर्ना, वैशाख ५ गते जिल्ला सदरमुकामा धर्म निरपेक्षताको ब्यानर तथा प्लेकार्ड जलाउने र ८ गते सम्पूर्ण राजमार्ग र चोकमा २ घण्टा सत्याग्रहको कार्यक्रम राखिएको समेत राप्रपाले जनाएको छ । राप्रपाले दोस्रो चरणको संघर्ष जिल्ला सदरमुकाम तथा अन्तिम चरणमा राजधानी केन्दि्रत हुनेसमेत जनाएको छ ।

राप्रपाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हिंसा त्याग्न र सरकारलाई प्रतिबन्ध हटाई वार्ताबाट निकास खोज्न आग्रहसमेत गरेको छ । राप्रपाले पृथकतावादी आन्दोलन गरिरहेका सीके राउत समूहसँग भएको सम्झौताले अनेक प्रश्न खडा गरेको उल्लेख गर्दै त्यसबारे तत्काल जवाफ दिन सरकारसित माग गरेको छ । कान्तिपुरबाट


ताजा खबर

Loading...
Loading...
Loading...