Logo

पत्नि सीताको उपचारका लागि आज प्रचण्ड अमेरिका जाँदै



चैत ३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नि सीताको उपचार गराउँन आज अमेरिका जाँदैछन् ।

पत्नी सीताको उपचारका लागि उनी आज साँझ अमेरिका जान लागेका हुन् ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

दुई महिनाअघि नै अमेरिका जान लागेका दाहाललाई भेनेजुयला प्रकरणले अप्ठ्यारो पारेको थियो ।

भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।

सीताको पार्किन्सन रोगको उपचारका लागि अमेरिका लान लागिएको हो । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छैन ।

उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्