नेकपामा माधव नेपालको तुरुप, ओली-प्रचण्डले कसरी गर्लान् सामना ?

चैत २३, काठमाण्डौ । एक वर्ष पुग्नै लाग्दा पनि अझै अलमलमा परेको नेकपाको एकता प्रकृया फेरि विवादमा फसेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेपछि एकता विवाद बल्झेको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मापदण्डविनै एकलौटी सूची तयार पारेको भन्दै नेपाल समुहले अलग्गै सुची तयार पारेपछि नेकपामा खैलाबैला मच्चिएको छ ।

माधव कुमार नेपाल पक्षले जिल्ला नेतृत्वका लागि अलग्गै सूची बनाए पछि नेकपाको एकता विवाद थप चर्किएको हो । अध्यक्षद्वय ओली र दाहालले आफू खुसी नाम छनोट गरेको भन्दै नेपाल समुहले अलग्गै सूची बनाएको हो । जसले नेकपामा ठूलै खैलाबैला मच्चाएको छ । समानान्तर कमिटिका रुपमा सूची बनाएपछि दुई अध्यक्ष समेत झस्किएका छन् ।

अध्यक्ष ओली र प्रचण्डले जिल्ला नेतृत्वको सूची गोप्य ढङ्गबाट तयार गरेर जिल्लामा सर्कुलर गर्ने तयारी गरेका थिए । आफुहरुसँग सामान्य छलफलसमेत नगरि मापदण्डबिनै नाम चयन गरेको खबर पाएपछि अलग्गै सूची तयार गरेको नेपाल समुहका नेता ठाकुर गैरेले जानकारी दिए । उनका अनुसार नेतृत्वले मापदण्डको ख्याल नगरेपछि नेपाल समुहले सूची तयार गरेको हो ।

माधव नेपाल समुहले तत्कालिन माओवादीसँगको भागबन्डामा एमालेले लिने भनिएका जिल्ला अध्यक्ष र सचिवहरूको सूची तयार गरेको छ । केन्द्रीय कमिटी भागवण्डाकै अनुपातमा जिल्ला नेतृत्वको बाँडफाँट टुंगो लगाउने समझदारीअनुसार पूर्वएमालेले करिब ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व पाउने गरि नेपाल समुहले सूची तयार गरेको हो ।

सरकारी पदमा रहेका नेता र जननिर्वाचित प्रतिनिधिलाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने मापदण्ड ७ महिनाअघि नेकपा सचिवालय बैठकले पारित गरेको थियो ।
त्यसअनुसार साविकको कमिटीबाट वरिष्ठतालाई आधार मानेर पूर्वएमालेले पाउने भागवण्डामा जिल्ला अध्यक्ष या सचिवका जिम्मेवारी दिनुपर्ने नेपाल समूहको प्रस्ताव छ । मापदण्ड लागु हुने हो भने यी सूचीमा रहेका ब्यक्तिहरुले नै जिल्लाको नेतृत्व पाउने नेपाल समुहको दावी छ ।

नेपाल समुहले जिल्ला नेतृत्वको सूची तयार पारेपछि अध्यक्ष केपी शर्मा ओली भने नेपालसँग आक्रोशित बनेका छन् । अध्यक्ष ओली निकट नेताहरुका अनुसार नेता नेपालले पार्टी एकता टुङ्गिन नदिनका लागि अनेकन दाउ पेच गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।

नेताहरु पिच्छे बन्ने लिस्टले पार्टी एकता अप्ठेरोमा पर्ने ओली पक्ष नेताहरुको भनाइ छ । नेकपाका शीर्ष नेताहरुबीच नै यसरी दाउपेच चल्दा पार्टी एकता प्रकृया अझै लम्बिने प्रस्ट देखिएको छ । नेताहरुको स्वार्थकै कारण यो अलमल अझै बढ्ने विश्लेषकहरु बताउँछन् ।


ताजा खबर

Loading...
Loading...
Loading...