Logo

‘हातमा काम र मुखमा राम भनेर अघि बढ्नुपर्छ’



पशुपतिनाथका मुल भट्ट रावल गणेश भट्ट : मर्यादापुरुषोत्तम श्रीरामको जन्म दिनको अवसरमा विश्व हिन्दू महासंघको पहलमा गरिएको पूजापाठ एवं श्रीरामको आर्दश र आजको आवश्यकत्ता विषयक ज्ञान गोष्ठीका निमन्त्रणा गर्नु भएकोमा आयोजक समिति र तपाई विद्धनजनहरुप्रति अत्यन्तै आभारी छु ।

श्री पशुपतिनाथको निरन्तर सेवा गरी केही समय समाजमा हुने धर्म, संस्कृति रक्षाका लागि आयोजना गरिने ज्ञानसभामा सहभागी हुँदा धर्म संस्कृति संरक्षणका निम्ति मेरो पनि केही योगदान हुने विश्वास राखेको छु । आजको दिन आँफैमा महत्वपूर्ण र धर्म, संस्कृति, परम्परा, आस्था र आदर्श जीवनको समिक्षा गर्दै अगाडि बढ्ने दिन हो–श्रीरामनवमी ।

ऋषि महर्षिको देवभूमि, वेद र बुद्धको जन्मभूमि, आराध्यदेव श्री पशुपतिनाथको पावन क्षेत्रमा भगवान श्रीरामको जन्म जयन्तीको दिन धर्म र संस्कृतिको संरक्षणमा समर्पित विश्व हिन्दू महासंघद्धारा आयोजना गरिएको यो ज्ञान गोष्ठी श्रीरामको अर्चना हो ।

व्यक्ति, समाज र राष्ट्रको निम्ति श्रीरामको आदर्शलाई अवलम्बन गर्ने हो भने सुसंस्कृत हुनसक्छ । भगवान विष्णुको अवतार मानिएको श्रीरामको अलौकिक कार्य रामायणमा चर्चा गरिएको छ । त्यसैले सनातन धर्मालम्बीहरुले सबैभन्दा पाठ गरिने ग्रन्थ हो–रामायण । रामायण कयौं देश र भाषामा प्रकाशित छन् । जनजनको मनमा रामायणका आदर्श वचन सम्झना छ । तर, त्यसलाई जीवनमा प्रयोग गर्न सकेका छैनौं ।
आज्ञापालक, गुरुभक्ति, भातृप्रेम, भातृभक्ति, एक पत्नीव्रत, धार्मिकता, नैतिकता र क्षमशीलता, वीर, घमण्ड, दम्भ, छल र कपटविना जीवन चल्छ भन्ने सन्देश दिने श्रीरामको आदर्श आज समाजले भुल्दै गएका छन् ।

श्रीराम शस्त्र र शास्त्रका ज्ञाता थिए । भक्ति र मुक्तिका मार्गनिर्देशक रहे । आवश्यक पर्दा ज्ञानमार्फत नै शस्त्र र शास्त्र चलाउन सक्ने श्रीरामको एउटा मात्र आदर्शलाई धारण गर्न सक्यौं भने व्यक्ति, समाज र राष्ट्र सवल हुनेमा दुई मत छैन् ।

यति मात्रै होईन, श्रीराम नीति, प्रीति (प्रेम) परमार्थ र सेवाशास्त्र (अहिलेको भाषामा राजनीति) का ज्ञाता थिए । श्रीरामले समाज धर्मको मार्गबाट चलाउन सकियो भने सुखी र मानवजीवनको आदर्श मूल्य प्राप्त हुने पाठ सिकाउनुभएको छ ।

सनातन शास्त्रमा विश्वास नगर्नेहरुले भने दुःख पर्दा श्रीरामको नाम लिने गरेका छन् । दुःख र कष्ट भएका बेला रामको नाम हृदयबाट उच्चारण हुने गरेको छ । त्यसैले श्रीरामको आदर्श जीवन पढ्ने र जीवनलाई धन्य बनाउने हो भने हातमा काम र मुखमा राम भनि अगाडि बढ्दा विध्नबाधाहरु हट्दै जानेछन् ।

व्यक्ति, परिवार, समाज र राष्ट्रको लागि आजको आवश्यकत्ता यही हो । कर्म र श्रीराम भनेको चेतनाको प्रतिमूर्ति हुन् । कलियुगमा मानवका बल र बुद्धि दुवै मन्द हुँदै जाने छन् । त्यसैले भगवानले श्रीरामको चरित्रबाट धार्मिक, सांस्कृतिक र परिवारिक जीवनमा श्रीरामको आदर्श सिकेर जन्म र मरणको क्षणमा समेत स्मरण गर्ने नाम हो–श्रीराम ।

भनिन्छ, जननी जन्मभूमिश्च स्वर्गादपी गरियशी । जन्मदिने आमा, मातृभूमि र धर्म र संस्कृति र संस्कार प्राण हुन् । श्रीरामको चार स्वभाव शान्त, शीतल, सौम्य र सरल चरित्रमध्ये एक मात्र आदर्शलाई हामीले जीवनमा अवलम्बन गर्न आजबाट सुरु गर्ने संकल्प गरी अघि बढ्यौं भने अर्को वर्ष तपाई हाम्रो जीवनले धन्य प्राप्त गर्नेछ ।

मानव जीवनमा सबैभन्दा ठूलो धन भनेको चरित्र हो । श्रीरामको निस्कलंक चरित्रलाई कसैलेपनि प्रश्न उठाउन सकेनन । परिवार, समाज र देशका लागि सत्तपात्र भएर कर्म र बाणीलाई शुद्ध गरी काम गर्ने श्रीरामको आवश्यकत्ता विश्व र भारतवर्षका क्षेत्रहरुमा सबैभन्दा बढी खट्किएको छ ।

विकास र समृद्धिको कुरा गर्ने हो भने सबैभन्दा धर्म, संस्कृति र ज्ञानको संरक्षण भएपछिमात्रै सोचेको कुरा सफल हुन सक्छ । श्रीराम प्रज्ञा सेवक हुनका लागि दम्भ र घमण्ड त्यागेर सेवा भावले कर्तव्यपरायण भएको कथा हामीले सुनेका, पढेका र बुझेका छौं । तर, व्यवहारमा उतार्न सकेका छैनौं ।

श्रीरामको आदर्श भनेको नै नैतिकता, सांस्कृतिक, सामाजिक र शैक्षिकस्तरमा आध्यात्मिक जागरण गर्दै आफ्नो कर्तव्यबोध गरी कर्म गरौं भनेमात्र व्यक्ति, समाज र राष्ट्रमा समृद्धि हुँदै जान्छ ।

शत्रु र मित्र, ज्ञान, सेवा आँफैभित्र छन् । तर, हामीले आफूलाई भूलेर अरुलाई मात्र देख्ने मानसिकताका कारण श्रीरामका आदर्श अवलम्बन गर्न नसकेका हौं । भनिन्छ, देवम् मानुष रुपेण । श्रीरामको आदर्शलाई केवल वर्षका एक दिनमात्र सम्झना गर्ने होईन, जीवनको प्रत्येक क्षण र पलपल सम्झेर कर्म गरी रामनाम जप गरेमा आदर्शपथमा हिँड्नेहरुलाई निकै सहयोग पुग्दछ ।

प्रत्येक मानवको जीवनमा कही कुनै रुपमा रामले वासस्थान गर्नुभएको छ । त्यसैले श्रीराम आध्यात्मिक चेतनाका वाहक हुन । राम विग्रहवान धर्म अर्थात् धर्मका विराट स्वरुप हुन् । रमायति इति रामः जसले रामको चरित्र अनुशरण गर्न जीवन चलाएको छ । उनी नै राम हुन् । त्यसैले चराचर जगतमा श्रीराम विचरण गरिरहनुभएको छ । प्रकृतिपुरुष रामलाई हामीले केवल अन्तरमन र हृदयबाट चिन्न सक्नुपर्दछ । श्रीराम कुनै धर्मका स्वरुप हैनन । उनी मानव जातिका कल्याणका धर्तीपुत्र हुन् ।

पिताको वचन मान्ने, भाइबन्धु वान्धवलाई प्रगाढ मित्रता राख्न सक्ने, धर्म, संस्कृति र परम्परा संरक्षण गर्दै सुसंस्कृत हुने बाटो अघि बढेका व्यक्ति, समाज र राष्ट्र सवल भएका कयौं उदाहरणहरु छन् । श्रीरामका चरित्र हामीले पढ्यौं मात्र तर व्यवहारमा अवलम्बन गर्न सकेनौं । आजको दिनमा यसअघि हामीले गरेका कमजोरीलाई समीक्षा गर्दै अघि बढ्ने पवित्र दिन पनि हो । गुण र दोष कसैले कसैलाई दिने र लिने कुरा होइन । त्यो आफूले आफैंलाई प्रश्न गरी उत्तर खोज्ने दिन हो आज–श्रीरामनवमी ।

धर्म, संस्कृति, परम्परा र आस्थामाथि चोट पुग्ने काम भयो भने समाजले गलत बाटो अवलम्बन गर्दछ । त्यसैले अहिले संगठनका माध्यमबाट नै समाजमा श्रीरामको आदर्शवचनलाई परिपालन गर्न सकिन्छ । संगठित भर्ई हामी सबैको काम एउटै त्यसैले मिलेर, जुटेर, धर्म, संस्कृति र परम्परा जोगाउने काममा आजैदेखि लाग्नुपर्छ भनने प्रण गर्ने दिन हो श्रीराम नवमी । भगवान श्रीरामको आदर्श र आजको आवश्यकत्ता यही हो ।

सत्यवादी बनौं श्रीरामको आदर्श वचन । आजपनि समाजले सत्यलाई जति ढाकछोप गरेपनि अन्तत असत्यमाथि सत्यको विजय निश्चित् छ । हाम्रा ऋषिमुनीले भन्नुभएको छ सत्य सत्य नै हुन्छ । कसैलाई छल गरेजस्तो गरेपनि आफ्नो हृदयलाई ढाँट्न कसैले सक्दैन । त्यसैले भगवान श्रीरामले सँधै सत्यवादी भएर जीवन चलाए । उनले आफ्नो हृदयलाई नढाँटीकन कर्म गरे । त्यसैले सबैको मनमा रामनाम उत्पन्न भएको हो ।
हरे राम, हरे राम राम राम हरे हरे ।

आत्मज्ञानी राम भनेको ज्ञान, योग र कर्मयोगको त्रिवेणी हुन । यसमध्ये कुनै एक नदीमा डुबुल्की लगाउन सकियो भने मात्र मानव समाजले फड्को मार्नेछ ।

अन्तमा, आज यो पावन दिनको अवसरमा विद्धतजनको भेला गरी श्रीरामको आदर्श ज्ञान गंगामा प्रवेश गर्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक समिति, सभामा सहभागी विद्धान र विदूषी मातृशक्ति सबैमा पावन पर्व श्रीराम जन्म जयन्ती र बसन्ती नवरात्रको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै राष्ट्रदेव श्री पशुपतिनाथसँग सबैका शुभार्शीवाद श्लोकहरु :

जय पशुपतिनाथ ।

नोट :शनिबार विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, नेपाल विश्व हिन्दू महासंघ, पशुपतिनाथ भण्डारी सेवा समाज, श्री हिन्दु प्रतिष्ठान नेपाल र जय भोले शिव सेवा समाजले संयुक्त रुपमा रिपोर्टर्स क्लब नेपालमा श्री राम नवमी तथा विश्व हिन्दू एकता दिवसको अवसर पारेर आयोजना गरेको ‘मर्यादा पुरुषोत्तम भगवान श्री राम र आजको आवश्यकत्ता’ नामक प्रवचन कार्यक्रममा बोल्दै मूल भट्ट रावल भट्टले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्