ताला लगाइएको मल्लकालीन गलकोट दरबार

चिप्लेढुङ्गा, ४ वैशाख । तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ ।

इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत मल्ल राजा भएका थिए । गल्कोट राज्य विशाल नेपालमा विलय भएपछि सत्ताच्यूत भएका राजा जगत मल्लले तत्कालीन नेपाल सरकारसँग अनुनय विनय गरेपछि केही जग्गा बिर्ता पाएका थिए । यिनको निधनपछि विसं १९६९ देखि यिनका छोरा भरतबम मल्लका नाममा जग्गा थामिएको थियो । विसं १९९७ वैशाख ९ गते राजा भरतबमलाई थप बिर्तासहित राजाको श्रीपेच लाउन पाउने गरी प्रशासनिक, न्यायिक एवं आर्थिक अधिकार दिइएको छ ।

यिनका छोरा थीरबम २००७ सालको राणा शासनविरुद्धको क्रान्तिमा वीरगञ्जमा शहीद भएका थिए भने अर्का नाति माधवबम मल्ललाई जनयुद्धकालमा माओवादीले हत्या गरेका थिए । गल्कोट दरबार परिसरमा माधवबमको हत्यापछि उनको परिवार विस्थापित भएको थियो । बाइसी र चौबीसी राज्यकालमा अस्तित्वमा रहेको गल्कोट राज्य पर्वत राज्यको एक अङ्ग थियो ।

हाल बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं ५ मा रहेको उक्त दरबारमा माधवबम र उनको परिवार बस्दै आएका थिए । विसं २०५९ वैशाख ३१ गते राति पौने ८ बजे माओवादी पक्षबाट माधवबमको दरबार प्राङ्गणमा हत्या भएपछि उनको परिवार विस्थापित भएको थियो । परिवार विस्थापित भएपछि दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।

दरबार परिसरमा भेटिनुभएका भरतबमकी नातिनी बुहारी सरोजा मल्लले श्रीमान्को हत्यापछि सो ठाउँमा बस्न नसकेर आफू बसाइँ सरी गएको बताउनुभयो । “ श्रीमान्को २०५९ साल वैशाख ३१ गते माओवादीले हत्या गरे, हामी बस्न सकेनाँै अनि काठमाडौ गयौँ”, उहाँले भन्नुभयो । शिक्षक पेशामा आबद्ध माधवबमलाई माओवादीले सेनालाई सहयोग गरेको आरोप लगाएको उहाँले बताउनुभयो । “हामी यहाँ हुँदासम्म संरक्षण गरेका थियौँ । श्रीमान्को हत्यापछि दरबारको संरक्षण हुन सकेको छैन ।

दरबारभित्र केही पनि बाँकी नराखी माओवादीले लगेर गए, अहिले एउटा जीर्ण घर मात्र छ, भित्र केही छैन”, चैतदशैँका लागि कोटमैदानमा पूजा गर्न गल्कोट आइपुग्नुभएका मल्लले भन्नुभयो । कहीँ कतैबाट दरबार संरक्षणका बारेमा कुरा नआएको उहाँले स्पष्ट गर्नुभयो । “यो सम्पत्ति मेरो नाममा छ, कहीँ कतैबाट संरक्षण गर्नुप¥यो भनेर आधिकारिक रुपमा कुरा आएको छैन । अहिले आर्थिक रुपमा पनि केही गाह्रो छ, पछि सके आफैँले गर्ने सोचमा छु ।”

गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैह्रेले व्यक्तिका नामको सम्पत्ति भएकाले नगरपालिकाले संरक्षण गर्न नसकेको बताउनुभयो । “हामी संरक्षण गर्छौँ भनेर गएका छैनौँ, उहाँहरुबाट पनि संरक्षणको लागि नगरपालिकालाई आग्रह गरिएको छैन” प्रमुख गैह्रेले भन्नुभयो, “यो ऐतिहासिक दरबार हो, यसको संरक्षण जरुरी छ तर मल्ल परिवारले चासो दियो भने कानूनी प्रक्रियाबाट विवाद नआउने गरी हामी संरक्षण गर्न तयार छौँ ।” सार्वजनिक चासो र ऐतिहासिक महत्वको सो दरबारलाई परिवारसँगको सहमतिमा संरक्षणको पहल गरे पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।

गोलो भूभाग र तत्कालीन राजाहरुले हातहतियार भण्डारण गरेको स्थान ‘कोट’ भएकाले सो स्थानको नाम गलकोट भएको उल्लेख भएको ऐतिहासिक दस्तावेज भेटिएको स्थानीयवासी बताउँछन् । स्थानीयवासी लालबहादुर श्रीस भन्नुहुन्छ “नगरपालिकाले व्यक्तिको सम्पत्ति भनेर वास्ता गरेन । सम्पत्तिका धनीहरुले पनि संरक्षणमा चासो दिनुभएन । दैनिक सयौँ पर्यटक उत्सुकता लिएर आउँछन्, निराश भएर फर्कन्छन् गलकोट आउने अधिकांश पर्यटक गलकोट दरबार सोध्दै आउँछन् तर दरबार संरक्षणको अभावमा अलपत्र परेको देखेर नरमाइलो मान्दै फर्कन्छन् ।” यसलाई ढल्न दिनुहुन्न भन्ने यस भेगका जनताको चाहना छ तर सुनुवाइ हुँदैन ।

गलकोट – २ का सदस्य भक्तबहादुर घर्ती थापा दरबारको संरक्षण गर्न सकिए ‘टुरिज्म प्रडक्ट’ का रुपमा यसको विकास हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गल्कोट दरबारको संरक्षणमा तत्कालीन राजपरिवारका सदस्यहरुबाट चासो नलिइनुपछिको कारण जे जसो भए पनि जिल्लाकै ऐतिहासिक धरोहरको रुपमा उभिएको गलकोट दरबारलाई संरक्षण गर्नु आजको आवश्यकता हो ।”

दरबार घुम्न आउनुभएका नाट्टा गण्डकी प्रदेशका सचिव कमला गिरीले ऐतिहासिक महत्वको सो दरबारको संरक्षणमा सरोकार पक्षले छिटो चासो दिनुपर्ने बताउनुहुन्छ । “हामी एउटा उत्साह लिएर घुम्न आएका थियौँ एउटा ताला लगाएको जीर्ण दरबार मात्रै देख्यौँ । यस भित्र हेर्ने र थप जानकारी लिन पाएनौँ । यो व्यक्तिको सम्पत्ति भए पनि ऐतिहासिक महत्व बोकेको छ । यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न संरक्षण गरिनुपर्छ ।”


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्