बरिष्ठ पत्रकार श्रेष्ठको निधनले पत्रकारिता जगतमा अपुरणीय क्षति : रिपोर्टर्स क्लब नेपाल

काठमाडौं, ४ बैशाख । रिपोर्टर्स क्लब नेपालले वरिष्ठ पत्रकार एवम् कामना न्यूज पब्लिकेसन्स प्रा. लि. का अध्यक्ष पुष्करलाल श्रेष्ठको दुःखद निधनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

बुधबार अपरान्ह शोक वक्तव्य जारी गर्दै क्लबले भनेको छ,‘ वरिष्ठ पत्रकार एवम् कामना न्यूज पब्लिकेसन्स प्रा. लि. का अध्यक्ष पुष्करलाल श्रेष्ठको निधन भएको दुःखद् खबरले रिपोर्टर्स क्लब नेपाल मर्माहत र स्तब्ध भएको छ ।’

क्लबका सभापति ऋषि धमलाको नाममा जारी वक्तव्यमा थप भनिएको छ,‘करिव ५ महिनाअघि नाकमा समस्या आएपछि राजधानीस्थित ब्लुक्रस अस्पतालमा नाक र लगत्तै मृगौलाको पत्थरीको शल्यक्रिया गरिएका श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो ।’

बि.सं. २०१६ सालमा काठमाडौंमा जन्मिनुभएको श्रेष्ठ कामना ग्रुप अफ पब्लिकेसन्स, नेपाल मिडिया सोसाइटी, इन्टर नेसलन प्रेस इन्ष्टिच्यूटअन्तर्गत नेपाल नेसनल कमिटीलगायतका संस्थाका संस्थापक अध्यक्ष रही नेपाली पत्रकारितामा महत्वपूर्ण योगदापन पुर्याउनुभएको थियो ।

श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक निष्ठावान, निर्भीक, योग्य, अनुभवी, व्यावसायिक र सक्रिय पत्रकारलाई गुमाएको पनि क्लबले जनाएको छ । वक्तव्यमा भनिएको छ,‘पत्रकारिता क्षेत्रमा श्रेष्ठले पु¥याउनुभएको योगदानको सिँगो नेपाली पत्रकारिता जगतले सदैव स्मरण गरिरहनेछ । रिपोर्टर्स क्लब नेपाल स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चिरशान्तिको कामना पनि गर्दछ । साथै, शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।’


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्