Logo

‘उद्योग क्षेत्रलाई उकास्न आवश्यक छ’



मातृका यादव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : सरकार समृद्धिको दिशामा अग्रसर छ त भनिएको छ तर जनता त्यति सन्तुष्ट छैनन् । अहिलेसम्म सरकारले गरेको लगानी पनि त्यति तारिफ गर्न योग्य देखिन्न । त्यसकारण सरकारका सबै लगानीका क्षेत्रहरू उपलब्धिमूलक हुनुपर्छ । जुनजुन क्षेत्रमा लगानी गरेको छ त्यो क्षेत्रमा परिवर्तन आएको हुनुपर्छ ।

देशले समृद्धिको प्रत्याभूत गरिरहेको हुनुपर्छ । अहिले हाम्रो देशको अवस्था हेर्दा त्यति गर्भ गर्नुपर्ने र त्यति धेरै निराश हुनुपर्ने अवस्था छैन । हामीले धेरै समय राजनीतिक क्षेत्रमा खर्चियौं । विकास गर्नुपर्ने धेरै समय त राजनीतिक परिवर्तनतिरै प्रयोग भएको छ । त्यसकारण अबको समय विकास र समृद्धिको हो भनेरै सरकारले त्यही अनुकूलका योजनाहरू तय गरी विकासमा ध्यान दिनुपर्छ । सरकारको एक वर्षको कार्यकाललाई समीक्षा गर्दा त्यति धेरै सन्तुष्ट नदेखिए पनि केही निर्णय र योजनाका राम्रा काम भएका छन् । यी हाल बनेका र योजनामा सीमित रहेका विकासका कामलाई पूर्णता दिनेतर्फ सरकारको ध्यान पुग्ने हो भने देशको समृद्धि धेरै पर छैन । हामीले पछुताउनुपर्ने कारण पनि छैन । किनकि विकास गर्ने हो र अघि बढ्ने हो भने सम्भावना पनि धेरै लुकेका छन् । मात्रै ती सम्भावना खोतलेर विकासलाई पक्रिएर सोही दिशामा केन्द्रित हुन जरुरी छ ।

अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि बन्द उद्योगहरूलाई खुलाउने र तिनको दिगो व्यवस्थापन गर्नेतर्फ बढी ध्यान केन्द्रित गराएको छ । हामीले स्वदेशमै उत्पादन भएका सामग्रीको महत्व बढाउनेतर्फ पनि उत्तिकै चासो दिएका छौं । सबै निकायले स्वदेशी उत्पादन बढाउनको लागि ध्यान दिने हो भने हामीले चाहेको समृद्धि धेरे टाढा छैन । केही वर्षमै हामीले विकासको क्षेत्रमा फड्को मार्न सक्छौं ।

यसो गरियो भने आउँछ समृद्धि :

लगानीलाई उत्पादनमा प्रयोग गर्ने,
युवा स्वरोजगारका कार्यक्रम ल्याउने,
कृषिमा लगानी बढाउने,
बिदेसिएका युवालाई स्वदेश फर्काएर उनीहरूलाई राम्रो तलबभत्ता दिएर स्वदेशमै प्रयोग गर्न सक्ने
पर्यटन क्षेत्रमा लगानी बढाउने र विश्वासिलो वातावरण सिर्जना गर्ने,
स्थानीय उत्पादनलाई उकास्ने र तिनको बजारीकरण गर्ने,
उद्योग क्षेत्रलाई उकास्ने र त्यसबाट फाइदा लिने ।

००० ००० ००० ०००



प्रतिक्रिया दिनुहोस्