फोरम–नयाँ शक्ति लगनगाँठो, अब बाबुराम भट्टराई पनि सत्तापक्ष

वैशाख २२, काठमाण्डौ । वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच भोली एकीकरण हुँदैछ । मधेस आन्दोलनबाट उदाएका फोरम अध्यक्ष उपेन्द्र यादव र माओवादी युद्धबाट स्थापित भएका बाबुराम भट्टराईले गैर कम्युनिस्ट ‘समाजवादी पार्टी नेपाल’ पार्टी बनाउने सहमति गरेका हुन् । यी दुई पार्टीको एकीकरणपछि तेस्रो राजनीतिक शक्तिको रुपमा स्थापित हुने देखिएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएसँगै नयाँ राजनीतिक समिकरण बनेको छ । यि दुइ दलबीच प्रतिनिधीसभा निर्वाचन अघि नै एकताको चर्चा थियो । तर सहमति जुट्न सकेन । अहिले भने एकता सम्भव भएको छ । फोरम र नयाँ शक्तिबीचको एकताले राजनीतिक समिकरण मात्रै होइन, सरकारसमेत प्रभावित हुने निश्चित छ । सत्तारुढ दल नेकपा सहमत नभएसम्म संविधान संशोधन हुन मुस्किल हुनेछ । जब कि फोरमले संविधान संशोधनको माग राख्दै आएको छ ।

यता नयाँ शक्ति पक्षधरले फोरमलाई सरकारबाट बाहिरिन दबाब पनि दिन सक्छ । संविधान संशोधन नभएको अवस्थामा नयाँ शक्ति पक्षधरको दबाबले काम गर्यो भने नयाँ दल ‘समाजवादी पार्टी नेपालले सरकार छोड्ने सम्भावना देखिन्छ । किनकी सरकारमा सहभागी भएकै अवस्थामा संविधान संशोधनको विषय चर्काउन गाह्रो हुने छ । फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । सरकारमा रहेरै संविधान संशोधनका लागि दवाव दिने समझदारी पार्टी एकीकरण अघि भएको छ । तर सरकार छाड्ने, नछाड्नेबारे अहिले नै निर्णय भइनसकेको अवस्था छ ।

यो एकीकरणले खासगरी नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई अलि बढी राहत दिने छ । यसअघि एक सिट लिएर संसदको प्रतिनिधित्व गरेका भट्टराई १७ सिट भएको पार्टीको नेताको हैसियतले आफ्नो एजेण्डा राख्ने छन् । संसदमा उनी अब पछिल्लो सिटबाट अघि बढ्ने छन् । उनको राजनीतिक यात्रा सायद पहिलेभन्दा अघि बढ्ने छ । २०७२ मा तत्कालीन माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले गत निर्वाचनमा भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा आफू मात्र लागेर नहुने निश्कर्ष सहित संघीय समाजवादी फोरमसँग वार्ता अघि बढाए। एकवर्ष अघिदेखि भएको यो प्रयास शनिबार सफल भयो ।

एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् । फोरम र नयाँ शक्तिको पार्टी एकता वार्ता संघीय सरकारमा आएर अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् । पार्टी एकता घोषणा कार्यक्रम २३ गते प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...