Logo

बुटवलका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण



रुपन्देही, २६ वैशाख । बुटवल उपमहानगरपालिकाले मोतीपुर क्षेत्रका १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । वडा नं १७ र १८ मा पर्ने गाउँब्लक जग्गालाई बुधबार उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१७ का टङ्कनाथ ज्ञवाली र सोधावती थारूलाई लालपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवराज सुवेदीले मोतीपुरमा रहेका गाउँब्लकका सबै जग्गालाई असार मसान्तसम्म जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो । बुटवल वडा नं १७ र १८ का वडा कार्यालयको आयोजनामा दुई छुट्टाछुट्टै स्थानबाट लालपुर्जा वितरण गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले उपमहानगरपालिकाले कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएकाले लालपुर्जा पाएको भूमिलाई कृषि र पर्यटनसँग जोडेर व्यवसायिकरूपमा सदुपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

सालझण्डीबाट सुँगुरढुङ्गा सडक विस्तार शुरु

सालझण्डीबाट पाल्पाको जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार शुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नं ५ का भौतिक पूर्र्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गर्नुभयो । उहाँले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनीतिक सडकअन्तर्गत विस्तार र स्तरोन्नति थालिएको बताउनुभयो ।

कृषि सडकका रूपमा ट्र्याक मात्रै खुलेको सडकलाई मोटरबाटो गुड्ने गरी विस्तार शुरु गरिएको हो । सडक राजमार्ग क्षेत्रबाट २६ किलोमिटर लम्बाइको छ । त्यसलाई साढे ६ मिटर चौडा बनाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डीबाट शुरु भएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिका हुँदै गुल्मीको रुरु गाउँपालिकामा जोडिनेछ ।

सालझण्डी जुठापौवा सुँगुरढुङ्गा सडक निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ५० लाख बजेट विनियोजन भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षमा रु २७ लाख ३६ हजारमा भावना कन्स्ट्रक्सनले ठेक्का लिएको छ । प्रदेशसभा सदस्य भूमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोग गर्ने बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्