किसानलाई जहिले पनि मल पाउनै सास्ती

काठमाडौं १ जेठ । एक बोरा मललाई ९ सय तिर्नुपर्छ। त्यसका लागि पनि ४ घण्टा लाइन बसेर बल्ल एक बोरा मल पाइन्छ। ‘हामी किसानलाई जहिले पनि मल चाहिएका बेलामा यस्तै दुःख हुन्छ’, नीलकण्ठ नगरपालिका ११ ज्यामरुङका दीपक धमलाले सदरमुकामस्थित नीलकण्ठ साझा सहकारीबाट ठेलमठेल गर्दै १ बोरा मल खरिद गरेपछि गुनासो गरे।

धमलाको मात्रै होइन, मंगलबार मल लिन आएका सदरमुकाम आसपासका किसान सबैको यस्तै गुनासो छ। बारीमा छरेको मकै उम्रिएको छ भने खेतमा लगाएको चैते धान फूल खेल्ने बेला भएको छ। मल नहाली उब्जनी बढ्दैन तर धादिङका किसानले चाहेको बेला भने कहिल्यै मल उपलब्ध हुन सकेको छैन।

नीलकण्ठ नगरपालिका ९ पाल्पाकी कोपिला लम्साल मल किन्न लगातार ४ दिन सदरमुकाम धाइन्। ४ दिन आउँदा पनि नपाएपछि कार्यालयको फोन नम्बर लिएर गएकी लम्सालले मंगलबार मल आउने जानकारी सोमबार साँझ नै पाएपछि छिमेकी र साथीसहित बिहान ८ बजे सहकारी आइपुगिन्। करिब ४ घण्टा कुरेपछि १ बजेतिर बल्लतल्ल १ बोरा मल खरिद गरिन्। लम्सालले भनिन्, ‘भीडभाड हुन्छ भनेर बिहानै खानासमेत नखाइ आइयो, टन्टलापुर घाममा लाइन लाग्दाको दुःख कसले देख्ने ? ’

हरेक वर्ष र हरेक सिजनमा किसानलाई मल आवश्यकपर्ने बेलामा सधैं हाहाकार हुने गरेको छ। १ बोरा मल खरिद गर्न घण्टौं लाइन र सास्ती खेप्नुपर्दा किसान हैरान छन्। ज्यामरुङका दीपक धमलाले भने, ‘सरकार कृषकलाइ कृषि उत्पादन बढाउ भन्छ, १ बोरा मल पाउन पनि यत्रो लँडाइ गर्न पर्छ, हरेक वर्ष मल चाहिने बेलामा यस्तो सास्ती हुँदा पनि किन किसानका दुःख कसैको आँखामा नपरेको होला।’
अन्नपूर्णपोष्टबाट


ताजा खबर

Loading...
Loading...
Loading...