‘तमसुक’ लोकार्पण

अमेरिकामा बसोबास गर्दै आउनुभएका साहित्यकार पदम विश्वकर्माले लेख्नुभएको कथासङ्ग्रह ‘तमसुक’ आज लोकार्पण गरिएको छ । शिखा बुक्स र ज्ञानज्योति पब्लिकेशकनको आयोजनामा भएको कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठान, गद्य तथा आख्यान विभाग प्रमुख माया ठकुरीले समाजका घटनालाई जस्ताको तस्तै कथामा उतारेर लेखकले सङ्ग्रहलाई पठनीय बनाएको बताउनुभयो । “पुस्तक पढ्दा निकै आनन्द आयो” उहाँले भन्नुभयो, “समाज र हाम्रो परिवेशअनुकूलका कथाहरुले जो कोहीलाई पनि भावुक बनाउँछ ।”

उहाँले वर्तमान समयमा पाठकले आख्यानलाई रुचिका साथ पढ्ने गरेकाले साहित्यकारले परिष्कृत ढङ्गको लेखन शैलीलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । समालोचक ज्ञानु अधिकारीले सङ्ग्रहले परम्परागत जीवनशैलीसँगै २१ औँ शताब्दीको आधुनिकतालाई पनि समावेश गरेको बताउनुभयो

लेखक विश्वकर्माले गरीबी र अभावबाट पिल्सिएको नेपाली समाजको वास्तविकता ‘तमसुक’ बाट उजागर गर्न खोजेको बताउनुभयो । अन्तरराष्ट्रिय नेपाली साहित्यका समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले कथामा नेपाली समाजको मौलिकता पाइने हुँदा एक पटक सबैले पढ्नुपर्ने बताउनुभयो । साहित्यकार खगेन्द्रप्रसाद लुइँटेलले लेखकले नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नमा ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।

कार्यक्रममा नेपाल लघु तथा समाजका अध्यक्ष श्रीओम रोदन, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नेपालका महासचिव सन्ध्या पहाडी, सचिव बाबा बस्नेत, साहित्यकार दामोदर पुडासैनीलगायतले मन्तव्य राख्नुभएको थियो ।रासस


ताजा खबर

Loading...
Loading...
Loading...