पहिलोपटक प्रहरी कारबाहीमा मारिए विप्लवका कार्यकर्ता घिमिरे

वैशाख ८, काठमाण्डौ । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरी कारबाहीमा मारिएका छन् ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता प्रहरीबाट मारिएको यो पहिलो घटना हो ।

घिमिरेको तिघ्रामा गोली लागेको थियो । उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको हो ।

षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् ।

प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको नेकपाको आरोप छ ।

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको बताएको छ ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...