‘आरुबोटे हत्याकाण्ड पारिवारिक कलहले ‘

काठमाडौं ९ जेठ ।गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको घटना पारिवारिक कलहसँग सम्बन्धित रहेको बताएका छन् । उनले अनुसन्धान भइरहेकाले थप सत्यतथ्य त्यसपछि बाहिर आउने बताए ।

राष्ट्रिय सभामा बुधबार घटनाबारे जानकारी दिँदै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीका वरिष्ठ अधिकारीबाट अनुसन्धान भइरहेको जानकारी दिए । उनले केही दिनभित्रै सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे ।

गृहमन्त्रीले घाइतेको उपचार भइरहेको र अपराधी पत्ता लगाउने एउटा सूत्रका रूपमा पनि उनी रहेको बताए । उनले घटनास्थल र वरिपरिको स्थिति नियन्त्रणमा राख्न आवश्यक सुरक्षाकर्मीको टोली खटाइएको उल्लेख गरे । घटना निकै बीभत्स रहेकाले अपराधी पत्ता लगाउन कसर बाँकी नराखिने उनले बताए । सीआईबीद्वारा स्थानीयसँग सोधपुछ, सबै शव धरान लगियो

मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली बुधबार घटनास्थल पुगेको छ । एसपी उमा चतुर्वेदीको नेतृत्वमा आएको ६ जनाको अनुसन्धान टोलीले स्थलगत अवलोकन र स्थानीयसँग छलफल सुरु गरेको छ ।

एसएसपी सुरज खत्री नेतृत्वको टोलीले पनि बुधबार बिहानैदेखि स्थानीयसँग सोधपुछ गरेको छ । प्रहरीले हत्यामा संलग्न रहेको शंका गरिएका मानबहादुर माखिमको परिवारलगायतसँग सोधपुछ गरेको हो । मानबहादुर सोमबार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।

एसएसपी सुरज खत्रीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मानबहादुरले हत्या गरेको शंका भए पनि उनी एक्लैले घटना घटाए वा अरू पनि संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको छ । हत्या गरिएका ९ जना र मानबहादुरको शव पोस्टमार्टमका लागि धरान लगिएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार बुधबार बिहान ५ बजे शव धरान पुर्‍याइएको हो ।


ताजा खबर

Loading...
Loading...
Loading...