मुठभेडको मुडमा विप्लव

काठमाडौं, २० जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सशस्त्र गतिविधिमा सक्रिय हुँदै गएको छ । उसले सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमणको तयारी गरेको सूचनाका आधारमा महाकुलुङ गाउँपालिका ३ को छेस्कामको प्रहरी चौकी छाड्न पुगे ।

८ जनाको प्रहरी टोली रहेको चौकीमा हतियारधारीको आक्रमणको सूचनाका आधारमा प्रहरी राति अन्यत्र पुगेको थियो । विहानमात्र प्रहरी चौकीमा फर्किएको थियो । देशमा शान्ति सम्झौतापछि प्रहरीले चौकी छाड्नुपरेको यो पहिलो घटना हो । नेपाल प्रहरीले मातहतका सबै प्रहरी कार्यालयहरुलाई विप्लवको सम्भावित आक्रमणलाई मध्यनजर गरेर शतर्क रहन निर्देशन दिइसकेको छ ।

प्रहरी विप्लवप्रति कठोर बनेपछि उक्त समूहले प्रतिक्रिया जनाउन सक्ने भएकाले प्रहरी कार्यालयलाई शतर्क रहन निर्देशन दिइएको प्रहरी स्रोतले जनायो । विप्लव समूहप्रति कडा भन्दा कडा नीति लिन सरकारबाट प्रहरीलाई निर्देशन भएपछि पक्राऊको क्रम बढेको छ ।

विप्लवका कार्यकर्ता प्रहरी कारबाहीमा मारिइसकेका छन् । राजधानीको घट्टेकुलोमा १२ जेठमा विप्लव समूहले बम बिष्फोटको तयारी गरिरहँदा बिष्फोटमा परी चारजना विप्लव समूहका कार्यकर्ता मारिएका थिए । उक्त घटनापछि विप्लव समूहले विभिन्न स्थानमा बम बिष्फोट र आगजनी गरेको थियो ।

विप्लव मुठभेडको मुडमा पुगेपछि सरकारले ऊप्रति झन् कठोर नीति लिने संकेत गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई ‘आतंककारी’ भनिसकेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड विप्लव कार्यकर्तालाई पार्टीमा भित्राइरहेका छन् । ओलीले वार्तामा ल्याउने वाध्यात्मक परिस्थिति बनाउन खोज्दा पनि नटेरेपछि कडा रुपमा प्रस्तुत हुने संकेत गरिसकेका छन् । विप्लवको आक्रामक शैली र सरकारको कठोर नीतिमा देश मुठभेडमा जानसक्ने खतरा बढेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...