Logo

दुई अध्यक्षले अन्यौल



नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिका अध्यक्ष डा. विश्वकेशर मास्के अध्यक्षको कुर्सीमा बसेका छन् । ८ जेठमा सरकारद्वारा तदर्थ समिति गठन गरी अध्यक्ष बनाइएका उनी सोल्टीमोडस्थित रेडक्रसको केन्द्रीय कार्यालय पुग्दा कर्मचारीमा अन्यौल कायमै छ । रेडक्रसको आधिकारिक वेवसाइटमा अध्यक्ष सञ्जीव थापा नै उल्लेख छ ।

मास्के नेतृत्वको तदर्थ समिति गठन गरेपछि अदालत पुगेका पूर्व अध्यक्ष सञ्जीव थापाको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशले पुरानै कार्यसमिति पुर्नबहाली गर्न भनेपनि मास्के शुक्रबार कुर्सीमा बसेका हुन् ।

कुनैबेला थापा अध्यक्ष हुँदाको कार्यसमितिका उपाध्यक्ष मास्के पछिल्लो समय रेडक्रसको पदाधिकारी थिएनन् । चुनाव हारेर बसेका मास्केलाई थापा विरोधीहरुले कुर्सीमा ल्याउन सहयोग गरेका थिए । रेडक्रस जस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाको नेपालस्थित शाखामा जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गरेको भन्दै थापा असन्तुष्ट छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रेडक्रसको अधिवेशन रोक्न पत्र पठाएपछि सञ्जीव थापा नेतृत्वको कार्यसमितिको अवधि सकिएको थियो । अर्को अधिवेशन नभएसम्म आफू नै अध्यक्ष हुनुपर्ने जिकिर थापाको रहँदै आएको छ ।

जिल्ला प्रशासन संलग्न

रेडक्रसको नेतृत्व परिवर्तनमा जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रत्यक्ष संलग्न हुनथालेको छ । सञ्जीव थापालाई कुनैपनि हालतमा सक्रिय पक्षलाई जिल्ला प्रशासनले साथ दिदै आएको छ ।

नेतृत्वका लागि तय गरिएको अधिवेशन रोक्न पत्र पठाएपछि धरानमा चुनाव हुनैलाग्दा रोकिएको थियो । २२ देखि २४ वैशाखसम्म धरानमा तय भएको अधिवेशनले नेतृत्वका लागि चुनाव गर्ने तय हुँदा पत्र पुगेपछि सञ्जिव थापा समूह फर्किएर अदालत पुगेको थियो । उनी अदालत पुगेपछि जिल्ला प्रशासनले अर्को कदम चाल्दै नेतृत्वबाट बर्खास्त गरी तदर्थ समिति बनायो ।

जिल्ला प्रशासनले थापा नेतृत्वको कार्यसमितिलाई अवैधानिक ठह¥याउँदै तदर्थ समिति बनाएपछि अदालतमा पुगेको विवादले रेडक्रसमा अन्यौल बनाएको छ । वार्षिक अर्बौंको बजेट विनियोजन हुँदै आएको संस्थाको कामकारबाहीमा समेत असर पुगेको छ । ८० प्रतिशतभन्दा ठूलो हिस्सा विदेशी सहयोगले ओगटेको रेडक्रसको विवादले देशको अन्तर्राष्ट्रिय छवि बिग्रने खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्