Logo

नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएन



प्रदेश नं ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाहरुले औँल्याएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वातावरण समिति अनुगमनमा नगएको बताउनुभयो । “सबै अनुगमनमा जाने तर परिणाम केही नहुने देखेपछि हामी अनुगमनमा नजाने निर्णयमा पुगेका हौँ”, उहाँले भन्नुभयो, “तर वास्तविक अनुगमनको अधिकार वातावरण समितिलाई छ ।”

सभापति न्यौपानेले कानून तयार भइसकेको र कानून कार्यान्वयनमा आएपछि समस्या समाधान हुने बताउनुभयो । प्रदेश लेखा समिति सदस्य वैजनाथ कलवारले नदीमा चरम दोहनको अवस्था रहिरहे साउनपछि खोलामा माटो मात्र हुने बताउनुभयो । कलवारले अनुगमनका क्रममा क्रसरहरु अवैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको बताउनुभयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैधरुपमा भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाउनुभयो । खोलामा एक्साभेटर पस्नासाथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी भएको तर्क गर्नुभयो ।

तत्कालीन जिल्ला विकास समिति रुपन्देहीका उपसभापति रामचन्द्र ढकालले नदीको दोहन चरम रुपमा भइरहेकाले नियन्त्रण जरुरी रहेको धारणा राख्नुभयो । उहाँले विकास निर्माणका लागि नदीजन्य पदार्थ निकाल्नु स्वभाविक भए पनि अवैध उत्खननलाई रोक्नुपर्ने बताउनुभयो ।

वातावरणविद् प्राडा नारायण कँडेलले विकास निर्माण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाले ध्यान दिन नसकेको धारणा राख्नुभयो । वातावरणीय पक्षलाई ख्याल नगरी हुने दोहनले भविष्यमा विकराल समस्या उत्पन्न गर्नेतर्फ उहाँले सचेत गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्