प्रधानमन्त्री रोजगार कार्यक्रम एकातिर, कोरिया जानेको लाइन अर्कोतिर

जेठ २५, काठमाण्डौ । शनिबार र आइतबार ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यीमध्ये १० हजारले मात्रै कोरिया जाने सीमा अटाउन सक्छन् । वर्षैपिच्छे कोरियन भाषा परीक्षामा सामेल हुनेको संख्या बढेको बढ्यै छ । तर, कामदारको कोटा खासै बढेको छैन । यसले प्रतिस्पर्धा कडा बन्दैछ भने युवा असफलताको कारण निराशा पनि झाँगिँदैछ ।

सरकारले एकातिर बेरोजगारलाई काम र भत्ता दिने कार्यक्रम ल्याएको छ भने अर्कोतिर विदेश जाने युवाहरुलाई प्रोत्साहन गरिरहेको छ । नेपाली युवाहरुले देशमा रोजगारी नपाउँदा विदेशमा काम गर्न बाध्य छन् । सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । जसले गर्दा विदेशमा काम गर्न जाने अवसरलाई युवावर्गले उत्तम विकल्पका रुपमा लिने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै युवा वर्गलाई देशमा नै रोजगारी प्रदान गर्ने उद्देश्यले अघिल्लो वर्षको फागुन एक गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेका थिए । तर उक्त कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । जसले गर्दा युवाहरु अझै पनि लाइन लागेर तछाड मछाड गर्दै विदेश जान बाध्य छन् । कामका लागि नेपाली युवा जाने देशमध्येको सबैभन्दा उत्तम गन्तव्य मानिएको दक्षिण कोरिया जानका लागि युवाहरु संघर्ष गरिरहेका छन् ।

आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको कोरियन भाषा परिक्षामा करिब ९३ हजारको हाराहारीमा युवाहरु सहभागि भएका छन् । पछिल्लो एक दशकमा कोरियामा करिब ५५ हजार युवाहरु पुगिसकेका छन् । नेपाल र दक्षिण कोरिया सरकारकैबीचमा सम्झौता गरेर नेपाली युवाहरुलाई त्यहाँ पठाउन सुरु गरिएको थियो ।

आगामी वर्ष २०२० का लागि१० हजार ५० जनाको कोटा दिइएको छ । त्यसका लागि झण्डै एक लाख युवा प्रतिस्पर्धामा उत्रिएका हुन् । कोरिया जानका लागि भाषा परीक्षामा सहभागिले नेपालमा रोजगारी नपाएका कारण बाध्य भएर विदेश जानुपरेको गुनासो गरेका छन् । योग्यता क्षमता र सिपअनुसारको काम र पारिश्रमिक नपाइने समस्या युवाहरुले भोग्दै आएका छन् ।

नेपालबाट सन् २००८ देखि सुरु भएको इपिएस प्रणालीमा १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेका युवाले परीक्षा दिन पाउँछन् । यसले के सावित हुन्छ भने अहिलेका युवाहरु विदेशमा नै रमाउन खोजिरहेका छन् । भन्न त आजका युवा भोलिका कर्णधार भनिन्छ । तर त्यही भोलिका कर्णधारहरु नै धमाधम रोजगारीको नाममा विदेशिन थालेपछि देश विकासमा टेवा कसरी पुग्छ ।

यसरी देश बनाउने युवाहरु उपयुतm वातावरण र आफनो भविष्य सोच्दै विदेशिने हो भने एकदिन नेपालमा केवल बालबालिका र बृद्धबृद्धा मात्र हुनेछन् । यस्तो अवस्थाले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन कसरी सकिएला ?


ताजा खबर

Loading...
Loading...
Loading...