Logo

उग्रतारा मेलौली सडक कालोपत्र



निर्माण शुरु भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्मको यस सडकको कूल लम्वाईमध्ये आठ किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराको कूल रु १२ करोड ४५ लाखको लागतमा कालापत्रे हुन थालेको छ । ‘डिविएस टि’ प्रविधिमा कालोपत्र हुन थालेको सडकको कालोपत्र भने पाँच मिटर चौडाइ रहने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो ।

चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको सो कामको जिम्मेवारी पाएको राजेन्द्र केएस निर्माण सेवाले बताएको छ । निर्धारीत आठ किलोमिटर सडक कालोपत्र भए अजयमेरु गाउँपालिका–१ र २ का स्थानीय बासिन्दालाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुनेछ ।

अजयमेरु गाउँपालिका सहित बैतडी जिल्लाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुने गरी यो सडकको निर्माण शुरु गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्