१९ वर्षपछि महिलाका हत्यारा देवी यसरी पक्राऊ परे

विजयश्वरी प्रजापतीको घर पुगी देवी रमन अधिकारीले ११ हजार मागे । प्रजापती झर्किइन् । उल्टो पैसा चोरेको विषय उठाइन् । तीन हजार चोर्ने पैसा माग्ने ! विजयश्वरी झर्किइन् । देवी राक्षसमा परिणत भए । पैसा नदिए मार्ने सम्मको मनशाय बनाए ।

भोलिपल्ट विजयश्वरी छोराछोरीलाई स्कुल पठाउन बस स्टप पुगेर फर्कदै थिइन् । देवीले देखिरहेका थिए । घर फर्केकी विजयश्वरी भान्सामा छिरेकी मात्र थिइन् देवीले पुनः पैसा मागे । तर, पैसा आएन ।

खाना खाइरहेकी विजयश्वरीलाई देवीले कुट्टो बोकेर प्रहार गरे । विजयश्वरीले प्रतिवाद गरिन् । पाँच मिनेटको प्रतिवादपछि छुराले घाँटीमा प्रहार गरे । विजयश्वरीको प्राण गयो । घरमा भएको नगद गरगहना चोरेर भागे ।

भक्तपुरको कटुञ्जेमा भएको यो घटना १९ वर्ष अघि अर्थात् ८ असार २०५७ को विहान ११ बजेको हो । विजयश्वरी ३३ वर्षकी थिइन् भने देवी २५ वर्षका । तत्कालीन पर्सा जिल्लाका डिएफओ तुल्सी भक्ता प्रजापतीले विश्वास गरेका देवी रमन अधिकारीले नै उनको घर उजाडेका थिए ।
पर्साका बासिन्दा देवीलाई आफू पर्साबाट सरुवा भएपछि कार्यालयमा करारमा रहेका देवीलाई घरेलु कामदारका रुपमा राखेका थिए । विजयश्वरीले देवीलाई लामो समय काममा राखिनन् । उनीहरुबीच विवादपछि देवी निकालिए । तर, पैसाको लेनदेनको विषयमा देवीले विजयश्वरीको हत्या गरे ।

कसरी पक्राऊ परे

हत्यापछि रक्सौल हुँदै बनारस पुगेका थिए देवी । विजयश्वरीको हत्याको खबर साँझ मात्र थाहा भएकाले सीमा कट्न सफल भए । बनारसमा तीन महिना बसेपछि पुणे हुँदै मुम्बई पुगे । देवीले नाम परिवर्तन गरे, प्रकाश अधिकारी ।

बेला बेलामा लुकिछिपी नेपाल आउँथे । प्रहरीले उनको खोजी गरिरहेको थियो । २६ जेष्ठ २०२६ मा नेपाल भारत सीमा नजिकै रुपन्देहीको बेलहियाबाट पक्राऊ गर्न सफल भयो । ४४ वर्ष पुगेका देवी सवारी चालकको अनुमतिपत्र लिएर मुम्बईमा रहँदै आएका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १९ वर्ष पछाडि भएपनि उम्कन दिएन । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपक रेग्मीका अनुसार देवीमाथि थप अनुसन्धान भइरहेको छ ।

तस्विर स्रोत : सिआईबी/https://cib.nepalpolice.gov.np/


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्