होली वायन पिएका धर्मनीरपेक्षतावादीबाट गुठी प्रथामा आक्रमण

दीपेश केसी
‛‛बिरालो जतिसुकै डोकाले थुनेपनि म्याऊ गर्छ ।’’ आखिर त्यही भयो । गुठी प्रथा—पूर्वीय समाजमा समाजवादको उत्तम नमूनालाई सामन्तवादको एउटा स्वरुप भनियो । त्यो पनि नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाबाट । उनको बोली सरकारको आधिकारिक धारणा हो भने यो सरकारले गुठीलाई सामन्तवादको स्वरुप मानेको रहेछ । समाजवादको उत्तम नमूनालाई सामन्तवादको बिल्ला भिराउन खोजिन्छ भने प्रष्ट छ—यो भन्दा सामन्तवादी र उग्र पूँजीवादी समाजमारा सरकार नेपालको इतिहासमा अर्को बनेको थिएन ।

समाज सर्वोत्तम हितका लागि गुठी

गुठी कहिले पनि व्यक्तिगत हुँदैन । निजी गुठी पनि व्यक्ति विशेषको होइन, निश्चित समुदाय वा समाज विशेषको हो । सबै किसिमका गुठी कुनै व्यक्ति विशेषको नभई समाजको हुन्छ । निश्चित भू—भागमा बस्ने मानिस वा जाति समुदाय विशेषले संस्कृति वा संस्कार संचालनका लागि पनि गुठी राखेका हुन्छन् । गुठी भन्नेवित्तिकै जग्गा मात्र सम्झनु गल्ती हुन्छ । व्यक्तिको नभई समाजको साझा हुने गुठी समाजवादको उत्तम अभ्यास हो जुन हाम्रो समाजमा १५ सय वर्षभन्दा अगाडि देखि थियो ।

गुठी संस्थान ऐन, २०३३ ले पनि ‛‛गुठी भन्नाले कुनै मठ वा कुनै देवी देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो घाट, पुल, चौतारा, गौचरन, बाग, बर्गैचा, जंगल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय घर,इमारत वा संस्था बनाउने, चलाउने वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठी समेतलाई सम्झनुपर्छ ।’’

उल्लेखित परिभाषाले गुठी सर्वसाधारणको हितका लागि सामाजिक कार्यसँग सम्बन्धित छ । गुठी प्रथाका कारण नेपालमा मठ मन्दिर, पाटी पौवा जस्ता सांस्कृतिक धरोहर बने । धार्मिक पर्व र जात्रा आजसम्म चलाउन गुठी मुख्य आर्थिक तथा सामाजिक आधार बन्यो । सँसारको चासोमा परेको मच्छिन्द्रनाथको जात्रा पशुपतिको पूजालगायतको संचालन गुठीबाट चल्दै आयो । ती मन्दिरहरुको संचालनका लागि गुठी राखिए ।

राजा देखि प्रजासम्म दाता

उतिबेला सम्पत्ति भनेको जग्गा जमिन मानिन्थ्यो । मन्दिर संचालनका लागि गुठी राख्दा जग्गा दाताले दिएका थिए । दातामा राज्य वा व्यक्ति समेत पर्दथ्यो । व्यक्तिगत स्वार्थ त्यागेर आफूसँग भएको दिनेबाट गुठीहरु बनेका हुन् ।

युद्ध जितेका राजाहरुले गुठी राख्थे । लिच्छवी राजा मानदेवले युद्ध जितेपछि गुठी राखेका थिए । देश विदेशका विद्धानलाई डाकेर सभा सम्मेलन चलाउने अंशुवर्माले पनि गुठी राखे । पृथ्वीनारायण शाहले १८२५ मा काठमाडौं जितेपछि गोरखनाथको धार्मिक पर्व पूजाका लागि जग्गा राखी गुठी राखेका थिए ।

नाथ समुदायसँग जोडिएको गोरखनाथ, पशुपतिनाथ, मच्छिन्द्रनाथलगायतको मन्दिर, पूजा र जात्रा संचालनका लागि गुठी राखिएका थिए । दाताको दानबाट हजारौं रोपनी जग्गा तिनका गुठीमा जोडिएका थिए । अहिले हामी जुन संस्कृतिप्रति गर्व गर्छौं त्यसका जर्गेनाका लागि नै गुठी राखिएका हुन् ।

जङ्गबहादुर राणाले पनि गुठी राखे । चन्द्र शमशेरले पनि गुठी राखेको इतिहास छ । चन्द्र शमशेरले मुसाफिर खाना गुठी राखी त्रिपुरेश्वरमा पाहुना घरको निर्माण गरी सन्त, महन्थ, लामा जस्ता धार्मिक व्यक्तित्वहरु काठमाडौं भ्रमणमा आउँदा बस्ने व्यवस्था मिलाएका थिए ।

राणाहरुले बरु गुठी राखे । मठ मन्दिरको जग्गा जमिन जोगाए । तिनका सन्तान दरसन्तानबाट जग्गा बेचिखाने गतिविधि भयो । विगतमा बनेका सरकारलाई समेत प्रभावित पारी गुठीका जग्गा रैतान नम्बरी बनाएर बेचबिखन गरियो । आखिर राणाहरुले धेरै जग्गा जमिन बेची सक्याए । व्यक्तिलाई धनी बनाउन खोज्दा के हुन्छ भन्ने उदाहरण हो यो । राणको स्थान नवसंभ्रान्तले लिए । देशका मुख्य स्थानमा सास फेर्न नसक्ने गरी सडक र भवन जस्ता पूर्वाधार बने ।

गुठीको जग्गा रैतान बनाउने नीति ल्याउँदा धेरै जग्गा हडपिए । लाखौं रोपनी जग्गा कानुन बमोजिम रैतान कायम भए । आज ती जग्गाहरु व्यक्तिका भए । जग्गाहरुको दुरुपयोग भए । देश र समाजले घाटा व्यहो¥यो । गुठीका जग्गा भू माफियाको इशारामा कब्जा पारियो । सिंगो देशलाई जग्गाको अनुत्पादक कार्यमा केन्द्रित पार्ने सम्मका गतिविधि चलिरहे ।

रैतान नम्बरीले सकियो

गुठी संस्थान ऐन, २०३३ मा केही प्रावधान बनाई गुठी तैनाथी जग्गालाई गुठी रैतान नम्बरी जग्गामा परिणत गरी व्यक्तिको नाममा दर्ता गरिदिन सकिने प्रावधान राखियो । गुठी संस्थान ऐन २०४१ ले गुठी जग्गाहरुलाई तोकिएको मूल्य तिरी रैकर बनाउन पाउने व्यवस्था गरिदिनाले गुठीको जग्गा तारोमा प¥यो । समाजको हितका लागि दाताले दिएका जग्गा व्यक्तिको बनाउने योजनामा पञ्चायती शासकहरु लागेका थिए ।

पञ्चायतले शुरु गरेको गुठीमाथिको हमलालाई २०४६ सालको परिवर्तनपछिका सरकारहरुले अझ बढावा दिए । पार्टीको नीति समाजवादी र साम्यवादी राखे व्यवहार उग्र पूँजीवादी देखाए । समाजको सम्पत्ति व्यक्तिको नाममा पु¥याए । २०४१ मा रैतानी गर्न सकिने प्रावधान ल्याएपछिको १८ वर्षमा गुठी संस्थानले एक अरब ६४ करोड ८७ लाख रुपैयाँ जम्मा ग¥यो । संस्थानसँग अहिले तीन अर्ब रुपैयाँ संचित छ । यी रकममध्ये सबैजसो गुठी रैतानी नम्बरीवापत् संकलन र त्यसको ब्याजवापत्को हो ।

गुठी रैतानी नम्बरीको रकम र अहिलेको जग्गाको मूल्य हेर्दा गुठीमाथि लुट गरिएको छर्लंग हुन्छ । देशभरका लाखौं रोपनी जग्गा रैतानीबाट यो रकम प्राप्त भएको हुँदा गुठी संस्थानले लाखौं रोपनी जग्गा गुमाएको छ । व्यक्तिले सिधा जग्गामा हक स्थापित गरेको छ । यो पूँजीवादी कार्यक्रम हो जसले समाजको हितको सम्पत्ति व्यक्तिमा सिधै पु¥यायो ।

माफियाको प्रभावमा सरकार

पञ्चायत देखि बहुदल हुँदै गणतन्त्रकालसम्मका सरकार कुनै न कुनै प्रकारका माफियाबाट प्रभावित हुँदै आएका छन् । कहिले जल माफिया त कहिले हवाई माफिया त कहिले भू माफिया । पैसाको लोभ देखाएर माफियाहरुले सरकारलाई नै आफ्नो अनुकूल संचालन गर्न लगाउने गरेका छन् । पञ्चायतमा वन माफियाले सरकारमा बसेकालाई प्रभावित पर्दा देशका वनजङ्गल सखाप पारिए । प्रजातन्त्र आएपछि जलमाफियाले झोलामा खोला बोकेर जलविद्युत निर्माण अवरुद्ध मात्र पारेनन् देशलाई २५ वर्ष अन्धकारमा राखे । जलमाफियाकै इशारामा सरकार संचालन भए ।

भूमाफियाहरु देशमा पुनः हावी भए । तिनको प्रभावमा सरकारका जिम्मेवार व्यक्तिहरु परेका छन् । कानुन नै परिवर्तन गरी व्यक्तिलाई जग्गा दिलाउने चलखेल शुरु भएको छ । सुकुम्वासीलाई जग्गा दिने मार्ग खोल्दै व्यक्ति विशेषलाई जग्गाको लालपूर्जा बाँड्न खोजिदैछ । गुठीको जग्गा रैतान नम्बरी बनाउन दिएर व्यक्ति विशेषलाई सम्पत्तिको मालिक बनाउन खोजिदैछ ।

कुरा सिधा छ— नेपालमा मठ मन्दिरहरुका नाममा हजारौं रोपनी जग्गा छ । पशुपतिनाथ, स्वर्गद्वारी, जानकी मन्दिरलगायतका जग्गामा भूमाफियाको आँखा छ । नाथहरुको गुठीका जग्गा दाङमा हजारौं बिगाहा छ । स्वर्गद्वारीको मन्दिर संचालनका लागि राखिएको गुठीको जग्गा पनि दाङ र प्युठानमा छ । पशुपतिनाथको गुठीमा पनि धेरै जग्गा छ । जानकी मन्दिरको गुठीमा हजारौं बिगाहा जग्गा छ । ती जमिन हडप्ने चलखेल धेरै अगाडि देखिएको हो । गुठी विधेयक ल्याएर कुनैबेला व्यक्तिले मन्दिरलाई दिएको जग्गा पुनः व्यक्तिको नाममा ल्याएर धन कमाउने गतिविधि हुनथालेको छ ।

आन्दोलनको आँधीबेहरी

देशलाई संमाजवाद उन्मुख भन्दै संविधान बनाउने कामचाहिं उग्र पूजीवादी ? धर्म र संस्कृतिमाथि ठाडै आक्रमण गर्दा आउने चुनौती बुझेर घुमाउरो ढंगले आक्रमण गर्ने । आधा शताब्दीयता कसैले बोकाएको भारी चल्तापूर्ता नेताहरुले बोकिरहेका छन् । नेपाली समाज भाँड्ने, यहाँको राम्रा संरचना भत्काउने र धर्म संस्कृति नष्ट पार्ने योजना बनाएकाहरुले बोकाएको भारी समयमै बुझ्न जरुरी छ । आज नबुझे भोलि धर्म संस्कृति विनाश पार्ने योजना तिनले पूरा गरिसक्छन् । आज नबोले भोलिसम्म सन्नाटा छाइसक्छ ।

समाजवाद र साम्यवादको खोल ओढेर हाम्रा परम्परागत समाजवादी अभ्यास माँस्नेहरु देखि बेलैमा जागरुक हुन जरुरी छ । हिजो तिनले नेवाः राज्य भन्थे आज नेवारको संस्कृतिमाथि आक्रमण गरे । तिनले जहिले समाजवाद भन्दै आए आज समाजवादमाथि भयंकर हमला गरे । हिजो तिनले हाम्रो धर्मनिरपेक्षता भन्थे आज एउटा धर्म विशेषको होली वायन पिएर सनातन धर्मविरुद्ध खुलेआम लागिसके । होली वायन देखि गुठी विधेयक सम्मले तिनको मुखुण्डो उत्रिइसकेको छ । ढिलो भएपनि नेपाली समाजले समाज र संस्कृतिविरोधीलाई चिनिसकेको छ ।

हिजो तिनले पशुपतिनाथमा हात हाले आज पशुपतिनाथलगायत देशका मठ मन्दिरको मुख्य आधार गुठी प्रथामा हात हालेका छन् । नेपाली समाज अब जागेको छ । संस्कृति र संस्कारको रक्षाको लागि आन्दोलन उठेको छ । यो आन्दोलन परिवर्तनका नाममा देश र समाजलाई बर्बाद बनाउनेहरु विरुद्धको आँधीबेहरी बन्न सक्छ ।


ताजा खबर

Loading...
Loading...
Loading...